सिंहदरबारमा गोली पड्किएको घटनामा पिएसओ भारतीलाई कारवाही

हाम्रो सन्देश संवाददाता

१५ मंसिर, काठमाडौं ।

देशको प्रशासनको मुख्य केन्द्र मानिने सिंहदरबारभित्र गएको कार्तिक १० गते दिउँसो गोली पड्किएको घटनामा राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी निजी सुरक्षा अधिकृत (पिएसओ) अनुपमा भारतीलाई कारवाही गरिएको छ ।

घटनापछि प्रहरी प्रधान कार्यालयले गरेको छानबिन गर्दा प्रहरी सहायक निरीक्षक (असई) भारतीको लापरवाहीले गोली चलेको निष्कर्ष निकालिएको छ । छानविन गर्दा कमजोरी देखिएपछि भारतीलाई नसियत दिइएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए । उनलाई दिइएको नसियत (कारवाही)को प्रकृतिबारे खुलाइएको छैन ।

कार्तिक १० मा सिंहदरबारभित्र भारतीले बोकेको पेस्तोल पड्किएको थियो । तर, गोली चल्दा कुनै क्षति हुन पाएन । छानविनबाट ‘मिस ह्याण्डलिङ’ हुँदा गोली चलेको ठहर गरेको छ ।

गोलीबाट मानवीय क्षति भने हुन पाएको थिएन । गोली टेबुलमा लागेको पाइएको थियो । नयाँ पेस्तोललाई अभिलेखमा राख्ने क्रममा पड्किएको थियो ।

अछामको विकासका लागि प्रतिबद्ध छु : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अछामको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्न अछाम पुगेका भट्टले अछाम जिल्लाको विकास निर्माण कार्यलाई प्रमुख प्राथमिकता दिएको बताए ।

यस्तै उनले साँफेबगरदेखि मेल्लेख जोड्ने सडकलाई अघि बढाउने आश्वासन दिएका छन् । अछामका अधुरा विकास विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने उनले बताए ।

अर्को प्रसंगमा बोल्दै देशलाई समग्र रूपमा परिवर्तन गर्न चाहने, यसको श्रेय माओवादी केन्द्रले गरेको, दश बर्से जनयुद्धलाई जाने र आफ्नो घरको नजिक जनताले सरकार पाएको, यो देन नेकपा माओवादी केन्द्रको रहेको बताएका छन् ।

क्रान्तिकारी विचार सुदृढ सङ्गठित र समृद्ध समाजको महाअभियान, समाजवादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिवेशन भन्ने मूल नाराका साथ प्रथम अधिवेशन सम्पन्न भएको हो ।

नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य तरामान स्वाँर विशिष्ट अतिथि रहेका थिए ।