नेपाली क्रिश्चियन पादरी केशव आचार्य २ वर्ष जेल चलान

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, काठमाडौं ।

गैरकानुनी धर्म परिवर्तन गराएको कसुरमा नेपाली क्रिश्चियन पादरी केशव आचार्यलाई जेल सजाय सुनाइएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले दायर गरेको मुद्धाको सो कसुरमा जिल्ला अदालत डोल्पाले मंगलबार २ वर्ष कैद र २० हजार जरिवानाको सजाय दिने फैसला गरी कारागार चलान गर्ने आदेश दिएको छ।

मंगलबार जिल्ला अदालका न्यायाधिस केशवराज चपाईं नेतृत्वको इजलासले सो फैसला सुनाएको हो।

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको अदालतले जनाएको छ।

आचार्य गत बर्ष लकडाउनको समयमा पोखरामा ‘येशुको नाममा सान्दारालाबा..’ भने कोरोना लाग्दैन भन्दै अफवाह फैलाएर भाइरल बनेका थिए। पछि सो भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो।

पोखरा महानगरपालिका–२९ स्थित प्रशस्त कटनी मण्डलीका पास्टर रहेका आचार्यलाई धर्मको नाममा कोरोना भाइरस सम्बन्धी अफवाह फैलाएको आरोपमा पक्राउ समेत गरिएको थियो।