एमाले महाधिवेशन : १७ बुँदे घोषणापत्र जारी

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, चितवन ।

चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।

१० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो ।

घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता छ ।

घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ । निर्वाचन आयाेगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेकाे छैन ।
मत परिणाम र सपथग्रहण पछि विधिवत समापनकाे घाेषणा गरिने छ ।

एमाले अध्यक्षमा भारी मतले ओली विजयी : ओलीको पक्षमा १८४० मत, रावलले पाए २२३ मत

नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो ।

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाए । साथै नाे भाेटमा ३३ मत खसेकाे छ ।

यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो ।