अछाममा बस दुर्घटना : दुई जनाको ज्यान गयो

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, अछाम ।

अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मंगलसेन नगरपालिका-१४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका-१ बस्ने २१ बर्षीय एकेन्द्र थापाकाे ज्यान गएकाे प्रहरीकाे भनाइ छ ।

प्रहरीका अनुसार बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइसकेको छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

जिप दुर्घटनाका घाइतेलाई उपचारमा सहयोग
जिल्लाको रघुगङ्गा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगङ्गा–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्यसहित चारको मृत्यु र चारजना घाइते भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले घाइतेलाई जनही रु एक लाखका दरले उपचार खर्च उपलब्ध गराइने जानकारी दिनुभयो । मृतकका परिवारलाई किरिया खर्चका लागि रु ५० हजारका दरले उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।

बेनीदेखि बेगको सिम जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप औँलामा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया विक, चालक दुढबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको थियो । मृतक र घाइते सबै बेगका हुन् । ५४ वर्षीय बलबहादुर बिक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ ।

प्रहरीका अनुसार जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो । मङ्गलबार बिहानै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।

यसैगरी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत अमृत सुबेदीले आज शोक विज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जलि र घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका विद्यालयहरु आजका लागि बन्द गरिएको छ ।