मलाई केपी ओली मन पर्नुहुन्छ : रेखा थापा

हाम्रो सन्देश संवाददाता

१३ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजन प्रति सहमति जनाएकी छिन् ।

न्युज कारखानासँग कुरा गर्दै अभिनेतृ थापाले ओलीको भिजन दूरगामी भएको बताएकी छन् । उमेर बढी भए पनि ओलीको सोच र दिमाग युवा पुस्ताको झै भएको बताएकी हुन् । उनले एमालेको १०औं महाधिवेशनमा ओलीले अवलम्बन गरेको नीति पनि आफूलाई मन परेको बताएकी छन् ।

‘म केपी ओलीको पार्टीको मान्छे होइन । उहाँसँग मेरो सिद्धान्त मिल्दैन । तर, उहाँको भिजन मनपर्छ । त्यसैले मलाई ओली मन पर्ने नेताभित्र पर्नुहुन्छ,’ उनले भनिन् ।

माओवादीले मुलुक हाँक्ने कुशल चालक बन्नुपर्छ : सहइन्चार्ज मल्ल

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्लले माओवादी मुलुक हाँक्ने कुशल चालक बन्नुपर्ने बताउनुभएको छ ।

माओवादी केन्द्र वीरेन्द्रनगर नगरपालिकाको सर्वसम्मत चयन भएको ६५ सदस्यीय पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा उहाँले माओवादी केन्द्र देशको कुशल चालक बने जनताले मुलुक हाँक्ने इजाजत दिने बताउनुभयो । अधिकार र उपलब्धि संस्थागत गर्ने अभिभारा माओवादीको काँधमा आइपुगेको मल्लको भनाइ थियो । उहाँले पार्टी निर्माणमा दत्तचित्त भएर लाग्न सबैलाई आग्रह गर्नुभयो ।

सो अवसरमा सहइन्चार्ज मल्लले नगर कमिटीका अध्यक्ष रत्न गाहा, उपाध्यक्षत्रय रतिमान सिंह, मदन पङ्गाली र पद्मा विष्ट, सचिव झङ्कराज काफ्ले, सहसचिव रमेश परियार, कोषाध्यक्ष बमु केसीलगायत पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।