एमाले महाधिवेशनः उम्मेदवारीकाे पहिलो सूची सार्वजनिक, अब दाबी विरोधको समय सुरु

हाम्रो सन्देश संवाददाता

१३ मंसिर, काठमाडौं ।

नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएकाे छ ।

उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

एमाले महाधिवेशन : तीन पक्षबीच प्रतिस्पर्धा

नेकपा एमालेको १०औँं महाधिवेशन सहमतिमा नेतृत्व चयन गर्न असफल भएपछि सुषुुप्त रुपमा रहेको तीनवटा पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेका नेताहरूले पार्टीभित्र कुनै गुटबन्दी नभएको दाबी गरिरहे पनि अध्यक्ष केपी शर्मा ओली पक्षधर, असन्तुष्ट १० नेता पक्षधर र पूर्व माओवादी पक्षधरबीच निर्वाचन हुने प्रष्ट देखिएको छ ।

पूर्व माओवादी पक्षधरबाट उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट, खुल्ला केन्द्रीय सदस्यमा मणिचन्द्र थापा र प्रदेश २ क्लष्टरबाट प्रभु साह उम्मेदवार छन् भने सो समूहलाई अध्यक्ष ओली पक्षधरले बढी मात्रामा समर्थन जनाउने सम्भावना रहेको छ ।

तर, निवर्तमान अध्यक्ष ओलीसँग असन्तुष्ट रहेका १० केन्द्रीय नेताहरूले ओली र माओवादी पक्षधर नेताहरू प्रस्तावित पदमा उम्मेदवार दिएकाले चुनौती थपिएको छ । उपाध्यक्ष थापाको स्थानमा भीम रावल तथा रायमाझी र भट्ट प्रस्तावित रहेको सचिवको स्थानमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनौती थपिएको हो । पूर्व माओवादी खेमालाई भने ओली पक्षले समर्थन जनाउने भए पनि प्रतिनिधिले के गर्छन ? अनुमान गर्न नसकिने नेताहरूको भनाइ छ ।