कोरोना भाईरसको नयाँ भेरियन्ट देखिए संगै साउदी सरकारले गर्यो यस्तो घोषणा !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

कोरोना भाईरसको नयाँ भेरियन्ट देखा परे संगै साउदी अरेबिया सरकारले उच्च सतर्कता अपनाउने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सम्भावित जोखिम कम गर्न साउदी सरकारले विभिन्न सात ओटा अफ्रिकन देशहरु बाट साउदी आउने हवाई यातायात बन्द गरेको हो । अफ्रिकन देशहरु मलावी, जाम्बिया, मेडागास्कर, अंगोला, सेशेल्स, मौरिसस र कोमोरोस गरी सात देशबाट आउने र जाने उडानहरू स्थगित गरिएको साउदी आन्तरिक मन्त्रालयको आधिकारिक स्रोतले आइतबार घोषणा गरेको हो।

माथि उल्लेखित देश बाट साउदी आउन चाहने गैर-साउदी नागरिकहरुले ति देश बाहेक अन्य देशमा १४ दिन बिताएर कोरोना नभएको प्रमाण लिएर मात्र साउदी प्रवेश गर्न पाउने साउदी अधिकारीहरुले बताएका छन् । त्यस्तै प्रतिबन्धित देशमा रहेका साउदी नागरिकहरुले स्वदेश फर्कन चाहेमा फर्कन पाउने तर अनिवार्य रुपमा ५ दिन क्वारेन्टाइन बस्नपर्ने जनाईएको छ ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट निकै खतरनाक भएको भन्दै डब्ल्यूएचओले थप चिन्ता थपिएको बताएको बीबीसीले जनाएको छ नयाँ भेरियन्टलाई डब्ल्यूएचओले ‘ओमिक्रोन’ नाम दिएको छ । दक्षिण अफ्रिकामा गएको बुधवार पुष्टि भएको ओमिक्रोन भेरियन्ट बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ । नयाँ भेरियन्ट देखिएपछि धेरैजसो देशले अफ्रिकन देशहरु सँगको हवाई सम्बन्धविच्छेद गरेका छन् ।

डब्ल्यूएचओले नयाँ भेरियन्टको सङ्क्रमणको प्रभाव बुझ्न अझै केही हप्ता लाग्ने बताएको छ । अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्टोनी फाउचीले नयाँ भेरियन्टले थप खतराको सङ्केत गरे पनि यसको समाधान निकाल्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ भेरियन्टले सङ्क्रमणदर बढाउने र खोपको प्रभावकारिता कम हुन सक्ने भन्दै वैज्ञानिक चिन्तित बनेको खबरमा उल्लेख छ ।