भीम रावलको पर्चा दिएर षडयन्त्र गरियो, ओलीप्रतिको मेरो दृढता कसैले तोड्न सक्दैन : कोमल वली

हाम्रो सन्देश संवाददाता

१३ मंसिर, सौराहा ।

नेकपा एमालेकी नेतृ एवं कलाकार कोमल वलीले आफ्नो हातमा पर्चा धमाएर आफूलाई बदनाम गर्ने षडयन्त्र भएको गुनासो गरेको छिन् ।

अध्यक्षका प्रत्याशी डा. भीमबहादुर रावलको प्रचारमा छापिएको पुस्तक समातेको तस्बिरसहित कोमल रावलको प्रचारमा हिँडेको चर्चा चलेको थियो ।

आफू भीम रावलको चुनावी प्रचारमा हिँडेको चर्चा चलेपछि कोमलले खण्डन गरेकी हुन् ।

उनले आफू अध्यक्ष केपी शर्मा ओलीप्रति दृढ रहेको पनि बताएकी छन् । ‘मेरो आस्था र विश्वासका केन्द्र श्रद्धेय अध्यक्ष के पी ओलीज्यू प्रतिको अभेद्धे दृढत्वलाई कुनै कुराले तोड्न सक्दैन,’ उनले भनेकी छन् ।

वलीले फोहोरी खेल नखेल्न अनुरोध पनि गरेकी छन् ।

‘हिँड्दा हिँड्दै पर्चादिएर षडयन्त्रपूर्ण तरिकाले तस्बिर खिचेर मेरो विश्वास र आस्थामाथि खेल्न खोजेकोमा खेद व्यक्त गर्दछु,’ उनले भनेकी छन् ।

कोमल वली नै भीम रावललाई एमाले अध्यक्षमा जिताउन भोट माग्दै !

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहँदा अध्यक्षका दावेदार भीम रावलले प्रचार सुरु गरेका छन् । वर्तमान अध्यक्ष केपी ओली आइतबार पनि सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग छलफलमा व्यस्त छन् ।

तर, यसैबेला वर्तमान उपाध्यक्ष रावलले अध्यक्ष पदका लागि मत माग्न थालेका छन् ।आइतबार भीम रावलले आफ्नो प्रचारमा पर्चा वितरण सुरु गरेका हुन् ।

ओलीले नेतृत्व चयनका लागि प्रयास जारी राखेकै बेला केही प्रतिनिधिले भीम रावलको पर्चा वितरण थालेका हुन् ।

सहमति खोज्दै ओलीले केही नेताहरुसँग छलफलमा व्यस्त हुँदा १० बजे सुरु बस्ने भनिएको बन्दसत्र समेत सुरु भएको छैन । यसैबेला भीम रावलको पक्षधर प्रतिनिधिहरुले पर्चा वितरण गरेका हुन् ।

कोमल वलीलगायतका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गर्दै मूल गेटसम्मै पुगेपछि स्वयंसेवकहरुले उनीहरुलाई ‘पर्चा बाँड्न पाइँदैन’ भन्दै बाहिर पठाइदिएका छन् ।

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई उनीहरुले पर्चा वितरण गरेका थिए ।