काँग्रेस अधिवेशन : यस्तो छ देउवा–पौडेलको प्रदेशगत अवस्था

हाम्रो सन्देश संवाददाता

१२ मंसिर, काठमाडौं ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ४४ जिल्लाको अधिवेशन सकिएको छ । आइतबार दिउँसोसम्म ४४ जिल्लाको अधिवेशन सकिएको हो । जसमा प्रदेश १ का १०, बागमती प्रदेशका ४, गण्डकी प्रदेशका ६, लुम्बिनीका आठ, कर्णालीका ९ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।प्रदेश एकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ५–५ जिल्ला सभापति जितेको छ । प्रदेश एकमा १३ औँ महाधिवेशनमा अधिवेशन भएका १० जिल्ला मध्ये ओखलढुंगामा देउवा पक्ष विजयी भएको थियो । प्रदेश दुईका आठवटै जिल्लामा जिल्ला अधिवेशनको टुङ्गो छैन ।

सर्लाहीमा वडा अधिवेशनसमेत सुरु हुन सकेको छैन भने अन्य जिल्लामा पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइरहेको छ । यस्तै बागमती प्रदेशका चार जिल्लामा काँग्रेस अधिवेशन सम्पन्न भएको छ । चार मध्ये देउवा र पौडेल पक्षले दुई दुई जिल्ला सभापति जितेको छ ।

यस्तै गण्डकी प्रदेशका ६ जिल्लामा काँग्रेस अधिवेशन सकिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेशमा देउवा पक्षले अहिलेसम्म ४ जिल्ला सभापतिमा बाजी मारेको छ । पौडेल पक्षले २ जिल्ला सभापति जितेको छ । उता गृहमन्त्री बालकृष्ण खाँणको गृह प्रदेशमा देउवा पक्षको उपस्थिति कमजोर देखिएको छ । ८ वटा जिल्लामा अधिवेशन सकिँदा पौडेल पक्ष ६ र देउवा पक्ष २ जिल्ला सभापतिमा सीमित छ ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह प्रदेश कर्णालीमा भने देउवा पक्षले जिल्ला सभापतिमा जबरजस्त उपस्थिति देखाएको छ । १३ औँ महाधिवेशनमा एक जिल्ला सभापतिमा सीमित भएको देउवा पक्षले यसपटक ९ जिल्लामा अधिवेशन हुँदा ८ जिल्लामा सभापति जितेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा पौडेल पक्षले केही सुधार गरेको छ । १३ औँ महाधिवेशनमा २ जिल्ला जितेको पौडेल पक्षले यसपटक अहिलेसम्म ३ जिल्ला सभापति जितेको छ । समग्रमा देउवा पक्षले १३ औँ महाधिवेशन भन्दा १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा सुधार गरेको छ ।

१३ औँ महाधिवेशनमा २२ जिल्लामा सीमित देउवा पक्षले १४ औँमा ४४ जिल्लाको नजिता आउँदा २४ जिल्लामा आफू पक्षीय सभापति ल्याएको छ ।