निर्णायक छलफलमा ओली, केन्द्रीय सदस्यहरू सबै दोहोरिँदै

हाम्रो सन्देश संवाददाता

१२ मंसिर, चितवन ।

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्व चयनका लागि अन्तिम छलफलमा लागेका छन् । उनले आफू निकट नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु पौडेललगायतसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा नेतृत्वको सूची टुंग्याएर बन्द सत्रमा पेस गर्ने तयारी भएको छ । छलफल सकिएसँगै केही बेरमा अध्यक्ष ओली पार्क सफारीबाट बन्दसत्र हल रहेको सेभेन स्टार होटेलमा जाँदैछन् ।

महासचिव पोखरेल र दलका उपनेता सुवास नेम्वाङ भने बन्दसत्र स्थल पुगिसकेका छन् । प्रस्तावित सूचीमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष नै दाबी गर्दै आएका नेम्वाङलाई उपाध्यक्ष, महासचिवमा विष्णु पौडेल र महासचिव दाबी गरेका शंकर पोखरेललाई उपाध्यक्ष, उपमहासचिवमा प्रदीप ज्ञवालीको टुंगो लागिसकेको छ ।

नेताहरूका अनुसार केन्द्रीय कमिटीमा हाल रहेका एक सय ९६ जनालाई दोहोर्‍याउने र एक सय पाँच जना नयाँ ल्याउने गरी गृृहकार्य चलिरहेको छ ।

एमाले महाधिवेशनः प्रभु साहको सचिवमा दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग

एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गरेका छन् । सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गरेका हुन् ।

उनले केन्दीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गरेका छन् । ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बनाउन जोड गर्नुभएको छ, सबैजसो प्रदेशबाट पदाधिकारी चयन हुने भए पनि प्रदेश २ बाट सम्भावना कम देखिएपछि पदाधिकारीमा प्रतिनिधित्व गराउनुपर्ने निवर्तमान अध्यक्ष केपी ओलीसँग माग राख्नुभएको छ,’ उनीनिकट एक नेताले भने ।

ती नेताका अनुसार एमाले केन्द्रिय कमिटीलाई समावेशी र समानुपातिक बनाउन पदाधिकारी, केन्द्रीय सदस्य, स्थायी कमिटी र पोलिटव्युरोमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउनुपर्ने मागसमेत साहले ओलीसमक्ष राखेका छन् ।

माओवादी खेमाबाट आएका शीर्ष नेताहरूलाई पदाधिकारीदेखि नै समेटेमा मात्र कार्यकर्ता पंक्तिमा राम्रो सन्देश जाने विषयमा समेत ओलीको ध्यााकर्षण गराएको ती नेताले जानकारी दिए ।

रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव पद दिने लगभग पक्कापक्की भए पनि साहलाई भने मधेसी समुदायको तर्फवाट प्रतिनिधित्व गराउन सचिव दिनुपर्ने माग साह निकटका नेताहरूले गरिरहेका छन् ।