नयाँ भेरियन्टलाई भ्याक्सिनले रोक्न नसक्ने भन्दै डा.गौतमको सतर्क रहन आग्रह

हाम्रो सन्देश संवाददाता

१२ मंसिर, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व प्रवक्ता तथा प्रोफेसर डा.जागेश्वर गौतमले नयाँ भेरिएन्टलाई रोक्न नसकिने भन्दै सचेत हुन आग्रह गरेका छन् ।

दक्षिण अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिडको नयाँ भेरिएण्टलाई भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रिपोर्ट आएको भन्दै उनले जनस्वास्थ्यमा मापदण्डलाई कडाईका साथ लागु गर्न आग्रह गरेका हुन् ।

उनले समाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘दक्षिणी अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिड नया भेरिएण्टलाइ भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रेपोर्ट आएको छ, यो इण्डिया छिरेपछी नेपाल आइहाल्छ, त्यसैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुको कुनै बिकल्प छैन, आफू बचौ र अरुलाइ पनि बचाऔ।

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए ।

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो । संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए । सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो । तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो । उनीहरु सबै जना क्वारेन्टिनमा छन् ।

त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।