एका बिहानै जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु, २ दर्जन बढी घाइते

हाम्रो सन्देश संवाददाता

१२ मंसिर, काठमाडौं ।

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि राडिबजार जाँदै गरेको ७ ख २७५७ नम्वरको रात्रि बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो।

मृतकहरुको सनाखत हुन बाँकी छ । घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ। घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको बताइएको छ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियोे । आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको अधिकारीले बताए । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।

काठ र टिनले बनेको घरमा आगलागी भएको हो । सोलारको व्याट्रि सर्ट भएर आगलागी भएको उनले बताए ।

घरका अभिभावक बाहिर गएका बेला घरमा आगलागी भएको थियो । विकट क्षेत्र भएकाले खबर बाहिर आउन ढिला भएको हो । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुडा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।