राष्ट्रपति बनाउने ओलीको आश्वासन नेम्वाङद्वारा अस्वीकार, वरिष्ठ उपाध्यक्ष नछाडने !

हाम्रो सन्देश संवाददाता

१२ मंसिर, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट अलग्याउनका लागि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।

दसौं महाधिवशेनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका नेम्वाङलाई हालका महासचिव इश्वर पोखरेलका लागि सहज बनाउन प्रतिस्पर्धामा नआउन भनिएको हो ।

ओली निकट नेताहरूले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवार नबन्न दबाब दिइरहेको बताइएको छ । इश्वर पोखरेल लगायतका नेताहरूले नेम्वाङलाई पार्टीमा बसेर आगामी निर्वाचनपछि राष्ट्रपतिको तयारी गर्न भनेको स्रोतले जानकारी दियो ।

नेम्वाङलाई तपाईं राष्ट्रपति हुने मान्छे हो । राष्ट्रपति हुने मान्छेले कार्यकारिणीमा किन लड्नुहुन्छ । पार्टीमा बसेर राष्ट्रपतिको तयारी गर्नुपर्छु भन्नुभएको रहेछ,ु नेम्वाङ निकट स्रोतले भन्यो ।

नेम्वाङले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने कुरा ओलीलाई जानकारी गराएको बताइएको छ । हिजो तपाईंका लागि त्यति योगदान गरियो । पार्टीमा सहयोग गरियो अब मलाई सहयोग गर्नुस् भनेर नेम्वाङले अध्यक्षलाई भेटेर फर्किनुभएको छ, ती नेताले भने ।

पार्टी नेतृत्वलाई एकताबद्ध बनाएर लैजानका लागि कसलाई के पदमा ल्याउने भन्नेबारे प्रस्ताव बन्दसत्रको हलमा राख्न पनि नेम्वाङले अध्यक्ष ओलीलाई आग्रह गरेको बताइएको छ । ओलीले भने त्यसको कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुनका लागि पोखरेलले ओलीको साथ पाएको बताइएको छ । तर, नेम्वाङ लगायतका नेताहरूले भने आफू पनि उम्मेदवार बन्ने अडान लिएपछि पोखरेल र ओली अप्ठ्यारोमा परेका छन् ।

अध्यक्ष ओलीले फेरि नेम्वाङ, पोखरेल, पौडेल, विष्णु रिमालसँग छलफल गरिरहेका छन् ।

अध्यक्षमा भने ओलीविरुद्ध उपाध्यक्ष भीमबहादुर रावलले उम्मेदवारी दिने तयारी गरेका छन् । त्यस्तै, महासचिव पदमा ओली निकट मानिएका विष्णु पौडेल र शंकर पोखरेलका साथी सुरेन्द्र पाण्डेले पनि दाबी गरिरहेका छन् ।