आफ्नै घमण्डले ओली सगरमाथाको शिरबाट नारायणी तिरमा पुगेः बिरोध खतिवडा

हाम्रो सन्देश संवाददाता

१२ मंसिर, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी शर्मा ओली आफ्नै घमण्डका कारण सगरमाथाको शिरबाट नारायणीको तिरमा पुगेको टिप्पणी गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) सुनापति गाउँपालिकाले आयोजना गरेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले नेपाली जनताले माया गरेर सगरमाथाको शिरमा पु¥याएका ओली आफ्नै घमण्डले गर्दा अहिले नारायणीको तिरमा पुगेको बताएका हुन् ।

झण्डै दुई तिहाइको बहुमतसहित बालुटार छिरेका केपी ओली आफ्नै मतिका कारण बालुटारबाट बालकोटको बार्दली हुँदै नारायणीको बगरमा पुगेको र अबको उनको यात्रा बगरकै हुने उनले बताएका थिए ।

ओलीले कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त पारेको बताउँदै अब आफ्नो पार्टीलाई मण्डलेकरण गरेर नागर्जुनमा बुझाउने निश्चित रहेको बताए । २०६२-६३ को जनआन्दोलनदेखि नै केपी ओली गणतन्त्रको पक्षमा नरहेको स्मरण गर्दै स्वास्थ्य मन्त्री खतिवडाले त्यसपछिका गतिविधिले केपी ओली मण्डलेहरुको पक्षमा रहेको पुष्टि गरिसकेको बताए ।

संसद विघटनको प्रशंगमा मन्त्री खतिवडाले भने, ‘केपी ओलीले पहिलो पटक संसद विघटन गरेको गलत भएको भन्दै सर्वोच्चले बदर गरेको ८० दिन पुग्न नपाउँदै दोस्रो पटक संसद विघटन गरे । त्यसपछि संसदका बहुमत सदस्य सहितको हस्ताक्षर लिएर हामी सरकार बनाउन सक्छौँ, ओलीले गरेको संसद भंगलाई बदर गर भनेर राष्ट्रपतिकोमा गयौँ ।

तर, राष्ट्रपतिले हामीले वैधानिक रुपमा गरेको हस्ताक्षरलाई नक्कली भन्दै पन्छाइन् । त्यतिबेला उनी ओलीको चाकडी गर्दै प्रधानमन्त्रीको कारिन्दा बनिन् । त्यसपछि हामी फेरि सर्वोच्च गयौँ । सर्वोच्चले बहुमत सासंदले गरेको हस्ताक्षर सक्कली भएको र सरकार बनाउन मिल्ने भनेर आदेश जारी गरेर बनेको सरकारलाई परमादेशको सरकार भन्दै अहिले ओली बौलाएर हिँडेका छन् ।