ड्रोनबाट एमाले महाधिवेशन हेर्दा यस्तो देखियो (फोटोफिचर)

हाम्रो सन्देश संवाददाता

१० मंसिर, काठमाडौं ।

नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा भीड लागेको छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झन्डा, पार्टीको चिह्न तथा चुनाव चिह्न अंकित तीनवटा झन्डाहरू सँगै झन्डोत्तोलन गरेर उद्घाटन गरेका छन् ।उनले झन्डोत्तोलन गरे लगत्तै महाधिवेशनको मस्कटको पनि औपचारिक अनावरण गरेका थिए । मस्कट अनावरण गरेपछि ओलीले मञ्चको अघिल्तिर बसेका कार्यकर्ताहरुबाट अभिवादन समेत ग्रहण गरेका थिए ।

उद्धघाटन कार्यक्रममा भारतलगायत विभिन्न छिमेकी मुलुकबाट समेत प्रतिनिधिको सहभागिता रहेको छ । यस्तै, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबाहदुर देउवा लगायत अन्य पार्टीका नेताहरुको समेत सहभागिता रहेको छ ।

प्रधानमन्त्री देउवालाई ओलीले दिए धन्यवाद

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

एमालेको १०औं महाधिवेशनलाई चितवनको नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका हुन् ।

‘प्रधानमन्त्रीज्यू यहाँ आएर नेपाली कांग्रेसको तर्फबाट एमालेको महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिनुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने ।

देउवा प्रधानमन्त्री भएको ६ महिनापछि ओली र देउवा सँगै मञ्चमा बसेका हुन् ।