केपी ओली काठमाडौं फर्कनु पर्दैन, नारायणी किनारबाट देवघाट गए हुन्छः नारायण वाग्ले

हाम्रो सन्देश संवाददाता

१० मंसिर, काठमाडौं ।

नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देवघाट जान सुझाब दिएका छन्। भोलिदेखि सुरु हुने एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगेका ओलीलाई वाग्लेले नारायणी किनारबाट देवघाट जान सुझाब दिएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा बृहत् नागरिक आन्दोलनका तर्फबाट सहभागी भएका वाग्लेले ओलीलाई यस्तो सुझाब दिएका हुन्।

मार्चपासपछिको कोणसभालाई सम्बोधन गर्दै वाग्लेले भने, ‘न्यायालयको समस्या छरपस्ट हुँदा पनि फैसला (प्रतिनिधिसभा विघटनको विरुद्धमा) गर्ने न्यायाधीश सबैले राजीनामा दिउन् भनेर न्यायपालिकाप्रतिको भूमिका बिर्सिने नेतालाई म भन्छु- तपाईं काठमाडौं नफर्कनुस्। नारायणी किनारबाट देवघाट जानुस्। पाँच लाख कार्यकर्ताले एक-एक रुपैयाँ उठाए भने पनि तपाईंलाई सुनको कमाण्डलु किन्न पुग्छ।’

सडकको मुद्दाको बलमा सत्तामा जाने र सत्तामा गएको भोलिपल्टदेखि प्रतिगमनको मतियार हुने या आफैँ प्रतिगमनको सूत्रधार हुने सम्पूर्ण राजनीतिक पंक्तिलाई जवाफ दिनका लागि बृहत् नागरिक आन्दोलन निरन्तर जागिरहने पनि उनले बताए।

एमाले महाधिवेशन : आज उद्घाटन हुँदै
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ ।

उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।

महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनुहुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।