एमाले महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी सहभागी

हाम्रो सन्देश संवाददाता

१० मंसिर, लमजुङ ।

चितवनमा शुक्रबारदेखि सुरू हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने भएका छन् ।

लमजुङका चार नगरपालिका र चार गाउँपालिकाबाट चार हजार २०० जना सहभागी हुने नेकपा एमाले लमजुङले जनाएको छ । एमालेका सचिव कृष्णप्रसाद अधिकारीका अनुसार चार नगरपालिकाबाट दुई हजार ८०० जना र चार गाउँपालिकाबाट एक हजार ४०० जना सहभागी हुनेछन् ।

बेसीसहर नगरपालिबाबाट ८०० जना, सुन्दरबजार नगरपालिकाबाट ८०० जना, मध्यनेपाल नगरपालिकाबाट ६०० जना, राइनास नगरपालिकाबाट ६०० जना सहभागी हुने अध्यक्ष दवाडीले बताए । गाउँपालिकातर्फ दोर्दी गाउँपालिकाबाट ६०० जना, मर्स्याङदी गाउँपालिकाबाट ६०० जना, दूधपोखरी गाउँपालिकाबाट १०० जना र क्व्होलासोंथर गाउँपालिकाबाट १०० जना सहभागी हुनेछन् ।

महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता बोकेर करिब ८० वटा सवारी साधन चितवन पुग्नेछन् । निजी र सार्वजनिक सवारी साधन रिजर्भ गरेर साथै स्वत:स्फूर्त मोटरसाइकलहरू समेत लाने भएका छन् । केही नेता कार्यकर्ता बुधबार र बिहीबार नै चितवन पुगिसकेका छन् । केही शुक्रबार जाँदैछन् ।

एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा युवाको वर्चश्व, आउलान् त ३० प्रतिशत नयाँ अनुहार ?

नेकपा (एमाले)को दशौँ महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशनबाट २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । केन्द्रीय सदस्यको उम्मेदवारीमा यसपालि युवाको वर्चश्व हुने देखिएको छ ।

पार्टीको भ्रातृ संगठन युवा संघ नेपाल, अनेरास्ववियु, खेलकुद महासंघमा रहेका युवाले केन्द्रीय सदस्यमा दाबी गरेका छन् । पार्टीभित्र ३० प्रतिशत नयाँ अनुहार आउने चर्चा भइरहेका बेला युवा केन्द्रीय कमिटीमा आउन खोजेका हुन् ।

जसमा अनेरास्ववियु अध्यक्ष सुनिता बराल, गण्डकी प्रदेश सांसद एवं युवा संघ पूर्वअध्यक्ष राजीव पहारी, खेलकुद महासंघका अध्यक्ष एवं युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल, अनेरास्ववियु पूर्वअध्यक्ष नवीना लामा, अनेरास्ववियु पूर्वउपाध्यक्ष रश्मी आचार्य, पूर्वअध्यक्ष ऐन महर, जाजरकोट जिल्ला कमिटी सचिव सीपी घर्तीलगायतले केन्द्रीय सदस्य पदमा दाबी गरेका छन् ।

त्यसैगरी, केन्द्रीय लेखा आयोग सदस्यमा ईञ्जिनियरतर्फ सञ्जीव रोकाहाले दाबी गरेका छन् । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईकाअनुसार उम्मेदवारीमा यसपालि युवाको वर्चश्व छ ।

३० प्रतिशत युवा ल्याउनुपर्ने अभियान चलाइरहेका नेता हिरा केसी यसपालि पदाधिकारीदेखि केन्द्रीय समितिसम्म युवाको प्रतिनिधित्व बढ्ने बताउँछन् । केन्द्रीय कमिटीमा चार कार्यकालपछि अनिवार्य अवकाशको प्रस्ताव गरेका केसीको युवा समूहले यसै महाधिवेशनबाट यो प्रावधान लागू गरेर केन्द्रीय कमिटीमा युवा प्रतिनिधित्व गराउन प्रयत्न गरिरहेको छ ।