९ मंसिर, काठमाडौं ।
कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे ।
जमलको एलोप्यागोडा होटेलमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् ।
अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको दरिलो समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
युवा नेतासहित धमलशमशेर राणासहित नेताहरूको समर्थन प्राप्त गरेको लिङ्देनलाई अभिनेत्री, निर्माता, निर्देशकसमेत रहेकी रेखाले पनि समर्थन जनाएकी हुन् ।
राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।
एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा
एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् ।
भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिए ।
एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित भएका हुन् ।
‘यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु । त्यो भनेको हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ । त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु’, उनले भने ।
एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको उनले बताए । त्यसैअनुरूप नेतृत्वलगायतका नेताहरूले पहलकदमी लिएको उनको भनाइ छ ।