कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक हुने मिति तोकियो, कहिले हुन्छ ?

हाम्रो सन्देश संवाददाता

९ मंसिर, काठमाडौं ।

कक्षा १२ को परीक्षाको नतिजा यही मंसिर २० गतेसम्ममा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मंसिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको हो।

यस वर्ष कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा पौने चार लाख विद्यार्थी सहभागी भएका थिए।

अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको बार्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। ‘अन्य कुनै प्राविधिक समस्या नआए यही मंसिर २० गतेभित्रै नतिजा सार्वजनिक गर्ने हाम्रो तयारी छ,’ शर्माले भने।

गएको परीक्षामा कोभिड–१९ सङ्क्रमण भएर सहभागी हुन नपाएका देशभरीका कक्षा १२ का ४१ परीक्षार्थीका लागि बोर्डले मंसिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ। छुटेका विद्यार्थीको लागि सम्बन्धित जिल्लाबाटै परीक्षा दिने व्यवस्था मिलाएको शर्माले बताए।

एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झण्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

यद्यपि हरेक जिल्लाबाट यकिन तथ्यांक आइनसकेको तर प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नलवपरासी र कपिलवस्तुबाट दुई–दुई सय र बाँकी जिल्लाहरुबाट थप तीन सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रवन्धक रामचन्द्र भुसालले बताए ।

‘जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरु तीन सय थप जिल्लाहरुबाट बुक भएको छ,’उनले भने ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आवद्ध छन् । गाडीको अभाव हुन नदिइने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । ‘गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौं’, उनले भने । बस व्यवसायी प्रालिले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रबार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए ।

शुक्रबारदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनीनीबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । जिम्मेवारी पाएका जिल्लाहरुले गाडी बुक गरिसकेको र कतिपय आजै साँझ र कतिपय शुक्रबार बिहान ५ बजे हिँड्नेगरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले बताए ।

लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउँदै छ । त्यस्तै नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ । त्यस्तै दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन–तीन हजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक–एक हजार तथा रुकुम पुर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता हुनेछ । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।