एकीकृत समाजवादीमा जान सक्छु, केपीको त अनुहार पनि हेर्न मन छैन : वामदेव गौतम

हाम्रो सन्देश संवाददाता

९ मंसिर, काठमाडौं ।

नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन्।

एमालेको १०औं राष्ट्रिय महामधिवेशन सुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीलाई अन्तर्वार्ता दिँदै ओलीले आफूलाई नेतृत्वका लागि आग्रह गर्ने सम्भावना पनि नरहेको र आफूले पनि कम्तीमा उनी रहुन्जेल एमालेमा फर्किने सम्भावना नरहेको बताएका हुन्।

बीबीसीका पत्रकारले ओलीले एमालेको नेतृत्वमा फर्किनुस् भनेर आग्रह गर्ने आशा छ भनेर सोधेको प्रश्नमा गौतमले भनेका छन्, ‘आशाको एउटा सानो त्यान्द्रो पनि छैन, त्यसो उहाँले गर्दै गर्नुहुन्न। त्यो चरित्रचाहिँ छैन। कमरेड केपी ओलीले जिन्दगीमा आत्मालोचना गरेको कहिले मलाई थाहा छैन। कसैलाई पनि उहाँले लगाएको गुन तिर्नुहुन्न, काम लगाउने हो लगाउने हो लगाउने हो, त्यसपछि फाल्दिने हो।’

बरु एकीकृत समाजवादीमा जनताको बहुदलीय जनवाद लागु गराउन आफू प्रयत्नरत रहेको उल्लेख गर्दै त्यसमा प्रवेश गर्र्ने सम्भावना रहेको तर केपी ओली रहँदासम्म आफू एमाले नजाने उनले बताएका हुन्।

अन्तर्वार्ताकारले यो उमेरमा राजनीति जीवनमा यस्तो वियोगान्त हुनुपर्ला वा राजनीतिबाट बहिर्गगमनमा पर्नुहोला भनेर सोध्दा नेता गौतमले त्यसलाई अस्वीकार गर्दै नयाँ पार्टी बनाउन पनि सकिने तथा एकीकृत समाजवादीमा प्रवेश गर्न पनि सकिने जवाफ दिएका हुन्।

उनले भने, ‘पार्टी बन्न सक्छ नि कस्तो कुरा गर्नुभएको तपाईंले! जनताको बहुदलीय जनवाद एकीकृत समाजवादीमा समावेश गराउन प्रयत्न गरिरहेको छु, पार्टीमा प्रवेश गर्न सक्छु।

एमालेमा नि भन्ने प्रश्नमा गौतमले भनेका छन्, ‘केपी ओली रहँदासम्म एमालेमा म जाँदैन।