चलचित्र निर्देशक रिनाशा वान्तवा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित !

हाम्रो सन्देश संवाददाता

८ मंसिर, इलाम ।

निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् ।

रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् । तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले पाँचौ मत पाइन् । यो कोटाबाट चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्म (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए । महाधिवेशन प्रतिनिको दौडमा चौथो भएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ भएकी रिनाशाले (३४३) मत पाए ।

इलामको चुलाचुली पुर्ख्याैली घर भएकी रिनाशा केही समयअघि मात्रै इलाम आएकी थिइन् । रिनाशा ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुन् । उनले सयौ गीतमा कोरियाग्राफर गरेकी छन् । १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील उनी आफ्नो क्षेत्रमा स्थापित छिन् ।

चुनावपछि एमाले चोइटिएर जान्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् ।

बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचारा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गरे ।

‘एमालेभन्दा हामी कमजोर छैनौ, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्राे पार्टीका मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाकाे बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ । राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा खिमलाल देवकाेटालाई जिताएका छौं’, उनले भने, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओलि छटपटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलौजमा उत्रेका छन्, तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौं ।’

एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्राे रहेको भन्दै उनले भने, ‘म आफैं मधेसमा जन्मेकाे हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौ ।’ आफ्नो पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उनले दाबी गरे ।

सञ्चारकर्मीको एक प्रश्नमा उनले भने, ‘प्रदेश २ को नाम र राजधानीको विषयमा अहिले हाम्रो पार्टीमा छलफल भएको छैन । छलफलपश्चात यो विषयमा अधिकारिक धारणा सार्वजनिक हुन्छ ।’ पर्सादेखि सप्तरीसम्मको बीचमा जनकपुरधाम पर्ने भएकाले राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने उनको भनाइ थियो ।