मलेसिया रोजगार बन्द हुँदा नेपालीको पहिलो गन्तव्य कतार बन्यो

हाम्रो सन्देश संवाददाता

७ मंसिर, काठमाडौं ।

कामदारमाथि अनावश्यक आर्थिक भार पारेको भन्दै रोजगारीका लागि मलेसिया जान श्रम स्वीकृतिमा सरकारले रोक लगाएसँग नेपाली कामदारका लागि कतार आकर्षक देश बनेको छ।

गत आर्थिक वर्ष २०७५/७६ मा कतार जाने कामदारको संख्या १ लाख ६१ हजार २ सय १५ पुगेको छ। कतारपछि युएईमा १ लाख १९ हजार ८ सय ५५ जना युवा कामका लागि पुगेका छन्। यो संख्या नयाँ श्रम स्विकृति, पुनः श्रम स्विकृति, तथा वैधानिकर णमार्फत् वैदेशिक रोजगारीमा जानेको संख्या हो।

कतार र युएईपछि साउदीमा १ लाख १७ हजार ९ सय ४ जना युवाहरु रोजगारीका लागि पुगेका छन्। हाल कलिङ भि’सा लागेका र पुनः श्रम स्वीकृति लिएर मात्रै कामदार मलेसिया गइरहेका छन्। २०७५ साउनदेखि २०७६ असारसम्म कलिङ भिसा लागेका र पुनः श्रम स्विकृतिबाट ४२ हजार १ सय ४६ कामदार मलेसिया पुगेका छन्। अघिल्लो वर्ष नयाँ तथा पुनः श्रम स्वीकृति वैधा’निक च्यानलबाट मलेसिया जाने कामदारको संख्या १ लाख ४ हजार रहेको थियो।

वैदेशिक रोजगारमा जाने घटे
अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको छ। अघिल्लो आर्थिक वर्षमा ६ लाख १२ हजार ६ सय ८५ जना कामदार रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा पुगेका थिए।

अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने १ लाख ३ हजार ८ सय ५८ जना कामदारको संख्या कम भएको छ। अघिल्लो वर्ष मलेसिया जाने कामदारको संख्यासँग तुलना गरी हेर्दा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको श्रम कार्यालय ताहाचलका कार्यालय प्रमुख देवेन्द्र कार्कीले बताए।

५० प्रतिशतभन्दा बढी अदक्ष
वैदेशिक रोजगारीका लागि ठूलो संख्यामा अदक्ष नेपाली कामदारहरु विदेशिने गरेका छन्। यस वर्ष पनि ५० प्रतिशतभन्दा बढी अदक्ष कामदार विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ।

५ लाख कामदार विदेशिएका मध्ये २ लाख ८५ हजार कामदार अदक्ष छन्। १ लाख ७९ हजार, ६ सय १ जना कामदारमात्रै दक्ष छन्। ४२ हजारबढी अर्धदक्ष कामदार विदेशिएका छन्।

केही विकसित मुलुकमा मात्रै रोजगारीका लागि दक्ष तथा व्यवसायिक कामदार विदेशिने गरेका छन्। यस वर्ष व्यवसायी कामका लागि ७ सय कामदार बाहिरिएका छन्। उच्च दक्षता भएका २ सय कामदार विदेशिएका छन्। गत आर्थिक वर्ष २०७५/०७६ मा रोजगारीको खोजीमा विश्वका १ सय ३६ मुलुकमा ५ लाख ८ हजार ८ सय २८ जना युवाहरु पुगेका थिए।