प्रचण्डको दावी : शिक्षकलाई राजनीति गर्न रोके पार्टी प्रणाली नै कमजोर हुन्छ

हाम्रो सन्देश संवाददाता

७ मंसिर, काठमाडौं ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन् ।

आज मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए ।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उनले शिक्षकलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइने पनि बताए ।

यसैले पनि शिक्षकहरू अझै सक्रियतापूर्वक समाज सेवामा लाग्नुपुर्ने उनले बताए । राजनीतिक रुपान्तरणमा उनीहरू लाग्नुपर्ने उनको भनाइ थियो । तर शिक्षकलाई राज्यले अन्याय गरेको दाहालको भनाइ थियो । शिक्षकहरूलाई राज्यले विभेदमा पारेका कारण उनीहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनले बताए ।

यसअघि निर्वाचन आयोगले आज मंगलबार नै राजनीतिक दलहरूमा शिक्षक र कर्मचारीलाई सदस्यता नदिन भन्दै मातहतका कार्यालयलाई निर्देशन दिँदै विज्ञप्ति जारी समेत गरेपछि प्रचण्डको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।