प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेद?

हाम्रो सन्देश संवाददाता

एजेन्सी :=

बलिउड र हलिउडका मोस्ट वान्टेड जोडी मानिएका प्रियंका चोपडा र निक जोनसले आफ्नो सिजलिङ केमेस्ट्रीले सधैं फ्यानहरुलाई प्रभावित पारेका छन् । तर, अब यी दुईको सम्बन्धविच्छेदको खबरले फ्यानहरुलाई आश्चर्यमा पारेको छ । खासमा प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम बायोबाट पति निक जोनसको थर हटाएकी छिन् । त्यसपछि प्रियंका र निकको सम्बन्धविच्छेदको खबर भाइरल भइरहेको छ । यो खबरले दुवैका फ्यानबीच हलचल मच्चिएको छ ।

प्रियंका र निकको सम्बन्धविच्छेदको खबरले उनीहरुका फ्यानलाई झट्का लागेको छ । फ्यानहरु यो कुरालाई लिएर अलमलमा पनि छन् कि आखिर प्रियंकाले आफ्नो सामाजिक संजाल बायोबाट आफ्ना पतिको थर किन हटाइन् ? पति निकसँग सम्बन्धविच्छेदको खबरबारे प्रियंकाले आलोचकलाई प्रतिक्रिया दिएकी छिन् । निकले व्यायाम गर्दै गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । जसमा प्रतिक्रिया दिँदै प्रियंकाले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मर्न चाहन्छु ।’ प्रियंकाले डिभोर्सको हल्ला चलेपछि निकलाई निक्कै प्रेम गर्ने गरेको जवाफ दिन खोजेकी छन् ।

यता प्रियंकाकी आमा मधुले पनि उनीहरुको सम्बन्धविच्छेदको समाचारलाई पूर्ण रुपमा गलत भनेकी छिन् । प्रियंका र निकको सम्बन्धविच्छेदको खबर भाइरल भएपछि प्रियंकाकी आमाले यस विषयमा प्रतिक्रिया दिएकी छिन् । न्यूज १८ मार्फत एक वक्तव्य जारी गर्दै मधु चोपडाले प्रियंका र निकको सम्बनधविच्छेदको हल्लालाई बकवास र गलत बताइन्। उनले यस किसिमको झुटो खबर नफैलाउन अपिल पनि गरेकी छिन् ।