एमाले महाधिवेशन : माओवादीबाट आएका नेताले पनि मत ल्याएर निर्वाचित हुनुपर्छ – केपी ओली

हाम्रो सन्देश संवाददाता

७ मंसिर, काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए ।

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन । महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ ।’

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई ओलीले भने, ‘लोकतन्त्रमा चुनौती स्वाभाविक’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताएका छन् । अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताए ।

‘रावलजीले मलाई चुनौती दिनु भएको छैन । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ । तर, रावलजीको मनमा यो छैन,’ उनले भने ।

अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताए । ‘म उठने/ नउठने कुनै टुंगो गरेको छैन । मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,’ उनले भने ।

आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उनको भनाइ थियो । ‘म उठ्ने भएकाले अरू नउठुन भन्ने चाहन्नन । नउठोस् भनेर दबाब दिने छैन । सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिन । करकाप गरेर सहमति गर भन्दिन, म अवसरमा भाँजो हाल्दिन, सबैलाई चुनाव लड्न दिनेछु,’ उनले भने ।