एक्सपर्ट डगको सहायताले बेपत्ता व्यापारी खोज्न थालियाे

हाम्रो सन्देश संवाददाता

७ मंसिर, कपिलवस्तु ।

कपिलवस्तुमा गत शुक्रबारदेखि हराएका व्यापारी खोज्न एक्सपर्ट डग (कुकुर) परिचालन भएको छ । शिवराज नगरपालिका-५ चन्द्रौटामा खाद्यान्न पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए । ससुराल जाने भन्दै मोटरसाइकल लिएर बुद्धभूमि-४ बुड्ढी पुगेका पौडेल सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय चन्द्रौटाले खोज तलास सुरू गरेको थियो ।

प्रहरीले पौडेल सवार मोटरसाइकल र प्रयोग गर्दै आएको मोबाइल बुद्धभूमि-९ बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो । लगातार प्रहरी प्रशासन र स्थानीयले खोजी गर्दा फेला नपरेपछि मंगलबार बिहानदेखि तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

कर्णाली प्रदेश प्रहरी मातहत रहेको तालिम प्राप्त कुकुर नेपालगन्जबाट ल्याएर खोज्ने काम सुरू गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । खोजतलास गर्न ल्याइएको कुकुर मान्छे खोज तलास गर्ने कार्यको लागि तालिम प्राप्त रहेको बताइएको छ ।

वडाध्यक्षले दुर्व्यवहार गरेको भन्दै जनकपुरधामका कर्मचारी आन्दोलित

केही वडाध्यक्षले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै जनकपुरधाम उपमहनगरपालिका कर्मचारी आन्दोलित भएका छन् ।

सोमबार जनकपुरधाम उपहानगरपालिका ३ ,४ र ७ का वडाध्यक्षहरूले सरसफाइ कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले मंगलबार विरोध जुलुस प्रदर्शन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

आफूअनुकूल काम नगर्दा वडाध्यक्षहरूले पटक-पटक कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

यता, सोमबार जनकपुरधाम-४ का वडाध्यक्ष शुर्दन सिंहसँग सरसफाइ कर्मचारीको विवाद भएको थियो । उक्त घटनालाई लिएर वडा नं. ३ ,४ र ७ का वडाध्यक्षहरूले सोमबार नै मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।