अब एमाले अध्यक्षका लागि केपी ओली र भीम रावलबिच भिडन्त !

हाम्रो सन्देश संवाददाता

६ मंसिर, काठमाडौं ।

नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिष्पर्धा हुने भएको छ ।

दुई नेताबीच चितवनमा हुने महाधिवेशनमा अध्यक्षका लागि प्रतिष्पर्धा हुने भएको हो ।

ओली अध्यक्षमा दोहोरिने उनी निकटस्थहरुले सार्वजनिक रुपमा बोल्दै आएका छन् । ओली स्वयंले पुनः अध्यक्ष बन्न विधान महाधिवेशनमार्फत् विधान संशोधन गराइसकेका छन् ।

आजै एमाले उपाध्यक्ष डा। भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

ओली एमालेका वर्तमान अध्यक्ष हुन् । उनी दुईपटक प्रधानमन्त्री भइसकेका छन् । कम्युनिस्ट आन्दोलनमा लामो अनुभव सँगालेका ओली एमाले स्थायी कमिटी सदस्य हुँदै अध्यक्ष बनेका थिए ।

विगतमा गृहमन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्री समेत बनेका ओली कडा बोलीको पहिचान बनाउन सकेका छन् ।

रावल पूर्व उपप्रधान तथा गृहमन्त्री हुन् । उनी विगतमा पर्यटनमन्त्री समेत बनेका थिए । एमाले उपाध्यक्ष रहेका रावल लामो समय पार्टीको महत्वपूर्ण कमिटीमा रहे । उनले विद्यावारिधी गरेका छन् ।

विगतमा माधवकुमार नेपालसँग नजिक रहेका रावल एमाले विभाजन हुँदा नेकपा एसमा गएनन् ।