युद्धमा भएका कमीकमजोरी छानबिन गरेर सार्वजनिक गर्छौँ : प्रचण्ड

हाम्रो सन्देश संवाददाता

५ मंसिर, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूद्वारा सञ्चालित तत्कालीन युद्धमा भएका कमीकमजोरीको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तयार रहेको बताएका छन्।

विस्तृत शान्ति सम्झौता भएको १५ औं वर्षका अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम भए पनि त्यसअवधिमा भएका घटनाको सत्य तथ्य छानबिन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपूरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रकृयाबाट टुङ्गोमा पुर्‍याई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ’, दाहालले भनेका छन्,‘आजसम्मका राजनैतिक उपलव्धीप्रति गर्व गर्दै त्यस क्रममा भएका कमीकमजोरीको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौँ।’

उनले यस मामिला राज्यकै भएकाले सबै गम्भीर रहेको पनि बताएका छन्। ‘यो मामिला सरकारको मात्रै नभइ राज्यकै मामिला हो’, उनले भनेका छन्, ‘यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौँ। बाँकी काम पूरा गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन। हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौँ।

शान्ति सम्झौतापछि नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको समायोजन पनि भइसकेको उनले बताएका छन्।

‘शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालीन घटनाको सत्य तथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरू गठन भइ कार्यरत छन्’, उनले भनेका छन्, ‘संवैधानिक रुपमा स्थापित गरिएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाति आयोग जस्ता आयोगहरूले पनि आफनो ठाउमा मानवअधिकार र शान्तिका लागि आफनो भूमिका निर्वाह गरिरहेकै छन्।’

उनले सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर कानुन बनाइरहेको पनि बताएका छन्।

नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी संसदीय अधिवेशनमा टुङ्गोमा पुर्‍याउने गरी काम भइरहेको पनि उनले बताएका छन्।

‘शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध छौँ। साथै शान्ति र महिला सम्वद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नम्बर १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकेको छ’, उनले भनेका छन्, ‘यस्तो पृष्ठभूमिमा दोश्रो कार्ययोजना समेत कार्यान्वयन गर्ने कुरा पनि विश्वस्त पार्न चाहन्छौँ। आजको यस ऐतिहासिक दिनमा हाम्रो यो प्रतिवद्धता पूरा गर्न सवै सम्वद्ध पक्षबाट सहयोगको अपेक्षा पनि गर्दछौँ।’