५ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेस ललितपुरको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा जिल्ला सभापति मदन अमात्यको टीम नै पराजित भएको छ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको हो। ललितपुरका ६ वटा प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा जिल्ला सभापति अमात्य निकट उम्मेदवार पराजित भएका हुन्।
शुक्रबार राति सार्वजनिक भएको मत परिणाम अनुसार ललितपुर निर्वाचन क्षेत्र नं- १ को प्रदेश सभा (१) को सभापतिमा मिलन सिलवाल विजयी भएका छन्। उनले तीर्थ घलानलाई पराजित गरेका हुन्।
सिलवालले दुई ससय मत प्राप्त गरे भने घलानले ८३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । त्यस्तै प्रदेश सभा (२) मा ज्ञानबहादुर लो प्रदेश सभा सभापतिमा विजयी भएका छन्। उनले २०१ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी कृष्ण चन्द्र महर्जनले ११० मत प्राप्त गरे।
दुवै प्रदेशसभाका विजयी सभापतिलाई कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाको समर्थन थियो भने घलान र महर्जन जिल्ला सभापति अमात्यका उम्मेदवार हुन्। संथापन समूहमै रहेका राणा र अमात्यका जिल्लामा आआफ्नै गुट छन्। ललितपुर क्षेत्र–१ कांग्रेस नेता राणाको निर्वाचन क्षेत्र हो।
ललितपुर क्षेत्र नं २ को प्रदेश सभा (१) को प्रदेश कार्यसमिति सभापतिमा दिवाकर नेपाल निर्वाचित भएका छन्। सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा नेपालले ८५ पाए भने उनका प्रतिद्वन्दी सञ्जय अर्यालले ६३ र जयकिशन बोगटीले २८ मत प्राप्त गरे।
प्रदेश सभा (२) को सभापतिमा चन्द्रमान बज्राचार्य सर्वसम्मत निर्वाचित भएका छन्। नेपाल र बज्राचार्यलाई पूर्वसांसदद्वय रामकृष्ण चित्रकार र चन्द्र महर्जनको समर्थन थियो।
जिल्ला सभापति अमात्यको निर्वाचन क्षेत्र नं ३ मा पनि उनका दुवै उम्मेदवार पराजित भएका छन्। प्रदेशसभा क्षेत्र (१) मा वीरेन्द्र महर्जन विजयी भए। उनले ११५ मत पाए भने प्रतिस्पर्धी गोविन्द घिमिरेले १०७ मत प्राप्त गरेका थिए। त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा सुरेन्द्र डंगोल विजयी भए।
उनले १०२ मत पाए भने प्रत्यासी निरन खड्काले ७० मत पाए। सभापतिमा विजयी महर्जन र डंगोललाई महासमिति सदस्य जितेन्द्र कुमार श्रेष्ठको समर्थन थियो भने पराजित दुवै उम्मेदवार जिल्ला सभापति अमात्य निकट हुन्।