५ मंसिर, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र माओवादीलाई क्षति पुर्याउने लक्ष्यका साथ एमालेले चितवनमा महाधिवेशन गर्न लागे पनि त्यो सम्भव नभएको बताउनुभएको छ ।
आज रौतहटको कटहरीमा भएको जनसभामा अध्यक्ष प्रचण्डले आफू र माओवादीलाई सिध्याउन भन्दै एमालेले सम्पूर्ण शक्ति चितवनमा केन्द्रित गरे पनि माओवादीलाई हराउन सक्ने तागत एमालेसँग नभएको दाबी गर्नुभयो ।
चितवनमा माओवादीलाई कमजोर बनाउने एमालेको योजनालाई त्यहाँका नागरिकले सफल हुन नदिने प्रचण्डको भनाइ छ । आउँदो चुनावमा माओवादीले २०६४ सालमा जस्तै विजयी प्राप्त गरेर पहिलो दल बन्ने सम्भावना देखेको प्रचण्डको जिकिर छ ।
देशमा संघीयता, गणतन्त्र, पछि परेका समूदाय, मधेसी लगायतलाई अधिकार दिलाउने काम माओवादीले नै गरेकाले चुनावमा त्यसको गुन तिर्न प्रचण्डले आग्रह गर्नुभयो ।
माओवादी जनयुद्धको सपना पूरा हुनेछ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादी जनयुद्धको सपना पूरा गर्न नयाँ नीतिका साथ पार्टी अगाडि बढेको बताउनुभएको छ । माओवादी जनयुद्धका सपना अझै बाँकी रहेकाले ती सपना पूरा गर्न नयाँ सोचका साथ पार्टी लागि परेको मुख्यमन्त्री केसीको भनाइ थियो ।
नेकपा (माओेवादी केन्द्र) तानसेन नगरका वडाहरुको अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशभित्र माओवादीका एक लाख १५ हजार पार्टी सदस्य रहेको बताउनुभयो । उहाँले पार्टी सदस्य नवीकरणलाई अनलाइनमार्फत गरेर व्यवस्थित गरिएको जानकारी दिनुभयो ।
माओवादी केन्द्र पाल्पाका अधिकांश स्थानमा आज वडा अधिवेशन सम्पन्न भएको छ । तिनाउ गाउँपालिका र रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकाका अधिकांश स्थानमा माओवादी केन्द्रको अधिवशेन सम्पन्न भएको छ ।
तानसेन नगरपालिकाको १ देखि ७ नं वडाका अधिवेशनलाई एकीकृत गरी तानसेनमा सम्पन्न भएको जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो ।