‘रामदेवलाई क्रान्तिकारी देखेर सित्तैमा जग्गा दिने कस्तो विकास हो ?’

हाम्रो सन्देश संवाददाता

४ मंसिर, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले बाबा रामदेवको कम्पनी सञ्चालन गर्न सित्तै जग्गा दिनेबारे टिप्पणी गरेका छन् ।
शुक्रबार रामदेवको पतञ्जलीले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरू उपस्थित भई नेपालमा कम्पनी खोल्न सित्तैमा जग्गा दिने बताएका थिए । यस क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामदेवलाई क्रान्तिकारी वैज्ञानिक भन्दै प्रशंसा गरेका थिए ।

प्रधानमन्त्रीसहित देशका शीर्ष नेताहरूले रामदेवलाई नेपालमा लगानी गर्न आग्रह गरेसँगै जसपा अध्यक्ष भट्टराईले विरोध जनाएका छन् । उनले विश्वका ठूला लगानी हुन सक्नेलाई बाहिर राखेर आफू अनुकूलको व्यापारीलाई सहयोग गरेको भन्दै विरोध जनाएका हुन् ।

‘ठूलो लगानी हुन सक्ने देशहरूसँग द्विपक्षीय लगानी प्रबर्धन–संरक्षण सम्झौता (बिआइपिपिए) गर्दा दश हात उफ्रेर राष्ट्रघाती भन्ने तर आफू अनुकूलका व्यापारीलाई क्रान्तिकारी घोषित गर्दै सित्तैमा जग्गा दान गर्ने ?’ उनले भने, ‘यो कस्तो राष्ट्रवादी विकास नीति हो ? नेताहरूले यस्तै हावादारी कुरा गरेर जनता ठगिरहने ?

पर्यटन मन्त्रालयले पशुपतिमा योग शिविर गर्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविरको आयोजना गरिने भएको छ । भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ ।

योग शिविरकै दिन मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपतिनाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको सहसचिव डा टोकराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितिमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।” मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा लिइएको छ ।

उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्करूपमा प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ । शिविरमा दशौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा छ । योग शिविरपश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा प्रशिक्षण गराउनुभएको थियो । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आउनुभएको हो ।