कांग्रेस मतगणनास्थलमा झडप, ५ जना घाइते

हाम्रो सन्देश संवाददाता

४ मंसिर, काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा संस्थापन इतर समूहका कांग्रेस नेता कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट प्यानलले अग्रता लिएपछि अर्को पक्षले मतगणनास्थलमा आक्रमण गरेको बताइएको छ । सो क्रममा ५ जना घाइते भएका छन् ।

तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले मतगणनास्थल बाहिर केही व्यक्तिबीच झगडा भएको जानकारी आएको बताए । उनले घाइते कति जना भयो किन झडप भयो भन्ने विस्तृत जानकारी नआएको बताए ।

दृष्टिन्युजसंग कुरा गर्दै उनले भने, ‘यो वहाँहरुको आन्तरिक विषय होला । मलाई यसबारे मतदानस्थलबाहिर केही युवाहरुबीच झडप भएको भन्ने जानकारी मात्रै आएको छ ।’

स्रोतका अनुसार मतगणनास्थलमा मुख छोपेर आएका केही व्यक्तिहरुले पौडेल पक्षका नेता कार्यकर्तालाई गरेको बताइएको छ । जारी मतगणनामा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठको प्यानलले नै अग्रता लिइरहेको थियो ।

घाइते भएका प्रदेशसभा क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । अन्य ४ जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।