जीवन बोल्ने गीतका शब्द सारथी ओमनाथ कडरिया !

हाम्रो सन्देश संवाददाता

प्रस्तुतकर्ता:नवराज क्षितिज

छोप्नु पर्ने चोटहरु बाहिर हाँसी खुसी भई ।
उभिनु नि पर्ने कहिले बिना कसुर दोषी भई ।।
माथिका यी हरफहरुले जीवनको उतार—चढाव संयोग—वियोग र सुख—दुःखलाई प्रतिनिधित्व गरेका छन् जुन हरफहरुलाई स्वरुपराज आचार्यको आवाजले भरिपूर्ण बनाएको छ । गीतकार ओमनाथ कडरियाको शब्दमा रहेको उक्त गीतमा रमेश कडरियाले संगीत भरी वरिष्ठ संगीतकार शिलबहादुर मोक्तानले संगीत संयोजन गरेका छन् । माथिका पङ्क्तिहरुले जीवनको खास अनुभूतलाई प्रष्ट्याउने हुँदा गीतकार जीवनलाई शब्दै शब्दको माला हो भन्न रुचाउँछन् ।

नेपाली गीत संगीतका क्षेत्रमा योगदान पु¥याउनुपर्छ भन्ने भावनालाई समेटेर सानै उमेरबाट गीतप्रति रुचि राख्ने ओमनाथ कडरिया झापाली गीतकारको रुपमा उदाउने क्रममा छन् । यस क्षेत्रमा केही हदसम्म लागेर भएपनि नाम र दाम दुइटै कमाउन सकिन्छ भन्ने सोच उनमा देखन्छि । लगभग ३० भन्दा बढी गीतहरु विभिन्न राष्ट्रिय गायक गायिकासँग रेकर्ड गराइसकेका गीतकार कडरिया निरन्तर यस क्षेत्रमा लागिरहेका छन् । सानै उमेरदेखि गीत संगीतमा बढी रुचि राख्ने उनी गीतलाई जीवनको अपरिहार्य साथी भन्न रुचाउँछन् । मानिसभित्रका यथार्थहरुलाई गीत संगीतका माध्यमबाट पनि चिनाउन सकिन्छ भन्ने विचार उनको रहेको छ । उनी भन्छन्,“गीत र संगीतले जीवनलाई जीवन्तता प्रदान गर्दछ जुन मानिसको जीवन सम्झी जिउने आधार पनि बन्ने गरेको हुन्छ ।

शीर्ष एल्बममा रहेका ८ वटा गीतमध्ये दुईवटा गीत उनका रहेका छन् । ती गीतहरु जस्तै ‘मान्छेहरु हल्ला गर्छन्’ बोलको गीत रामकृष्ण ढकालले गाएका हुन् । बजारमा आएको ‘जिउँदै मरेर पनि’ बोलको गीत नेपाली स्वरका धनी स्वरुपराज आचार्यले गाएका छन् । यी दुवै गीतमा संगीत भर्ने काम रमेश कडरियाले गरेका छन् भने संगीत संयोजनको काम बरिष्ठ संगीतकार शीलबहादुर मोक्तानले गरेका हुन् ।

ओमनाथका गीतहरुमा प्रायजसो रमेश कडरियाले नै संगीत भरेका छन् । उनका गीतहरुमा अञ्जु पन्तको आवाजमा ‘तिम्रो आँखामा आँशु देख्न चाहन्नँ म’ भन्ने बोलको गीत क्वालिटी फिल्मस् प्रा लि.ले बजारमा ल्याएको थियो । जुन गीतले श्रोताहरुको मन राम्रैसँग जित्यो । सहर र गाउँका कुना कन्दराहरुमा यो गीतको गुञ्जन मज्जैले सुन्न सकिन्छ । मेलिना राईको आवाजमा ‘सबै थोक छ जिन्दगीमा ’ प्रविशा अधिकारीको स्वरमा ‘ जीवन बर्खे पहिरो भयो’, सीमान्त सन्तोषको आवाजमा ‘रहन्छ जहिलेसम्म’, सीमान्त र सारिका घिमिरेको स्वरमा ‘कसम कसम’ र तिलक कट्टेलको आवाजमा ‘तिमी रहेमात्र’ बोलका अनगिन्ती गीतहरु कडरियाले आमः श्रोतासामु पस्किसकेका छन् ।

वियोगान्त गीतहरुमा बढी रुचि राख्ने कडरियाले हस्त परियारको स्वर संगीतमा ‘बाँचु भने कोही छैनन्’ बोलको गीत, सीमान्त सन्तोषको स्वर तथा संगीतमा ‘छुटाइ गयौ किन कुन्नि’, राजकुमार बगरको संगीत र सीमान्तको स्वरमा रहेको ‘रुन पनि गाह्रो भयो’ बोलको गीतलाई बजारमा श्रोतासामु मन जित्ने गरी पस्किसकेका छन् । अर्कातिर शेरबहादुर शाहीको स्वर र संगीतमा रहेको ‘हाम्रो ठाउँमा नयाँ मान्छे’ बोलको गीत र मोहन मगरको संगीतमा रहेको ‘हामी साना कोपिला हौँ’ बोलको बाल गीत ‘ओठभरि मुस्कान देखेँ’, र ‘कोही भित्र भित्र रोई’ लगायत करिब दुई दर्जन गीतहरु बजारमा आइसकेका छन् । बद्री प्रसाद सुवेदीको संगीतमा रहेको ‘खुसी भन्नु तिम्रो निम्ति’ भन्ने गीतमा प्रविशा अधिकारीको आवाज सुन्न सकिन्छ भने केही गीतहरु जस्तै ‘मेरो अजर अमर गीत हौ तिमी’ र ‘अचानोमा राखेर मुटु रेटे पनि’ रमेश अन्जान कडरियाको संगीतमा प्रविशाकै आवाजमा निकट भविष्यमा श्रोतासामु आउने तयारीमा रहेका छन् । नवोदित गायक अमित बिष्टको आवाजमा ‘कति दिन जिउन सक्छु’ भन्ने बोलको गीत लगायत करिब दुई दर्जन थप गीतहरु श्रोतासमक्ष चाँडै बुलन्द हुने कुरामा गीतकार ढुक्क छन् ।

पुर्बेली स्रष्टा कडरिया गीत लेख्नलाई कुनै यस्तै अवस्था चाहिन्छ भन्दा पनि मानिसभित्र रहेका इमोसनल फिलिङ्सहरुलाई बाहिर प्रष्फुटन गर्ने माध्यम बताउँछन् जुन जतिबेला पनि पोखिन सक्छ । सबै प्रकारका विधामा कलम चलाउने उनी वियोगान्त गीतहरु लेख्नुमा छुट्टै आनन्द र मज्जा आउने बताउँछन् । वियोगको खासै अनुभव नभएको बताउने उनी सब्लिमिटिको उच्चता वियोगमा मात्रै अनुभव हुन्छ भन्छन् । रुचि आ—आफ्नै भएपनि लोकगीत, राष्ट्रिय गीत, पप, रक र दोहोरी सबै गीतलाई मन भने उनी पराउँछन् र सबैलाई समानरुपमा सम्मान पनि गर्छन् ।

मानवशास्त्रमा एम.फिल. र अङ्ग्रेजीमा एम्.ए. गरेका कडरिया गीत सङ्गीतका अलावा शिक्षण पेसामा पनि संलग्न छन् । उनी धेरैजसो अध्ययन अनुसन्धान विषयमा चासो राख्ने र पढाउने गर्छन् । काठमाडौँ विनायक शिक्षालय र सपना बाटिका कलेजमा विगत लामो समयदेखि अङ्ग्रेजी, समाजशास्त्र र अनुसन्धान विषय पढाउँदै आएका गीतकार काठमाडौँको सुविधानगरस्थित ट्रिटन इन्टरनेसनल सेकेन्डरी स्कुलमा सामाजिक अध्ययन विषय रुचिका साथ पढाउँदै आएका छन् ।

स्वर सम्राट नारायण गोपाल, प्रकाश श्रेष्ठ, रामकृष्ण ढकाल, सुक्मित गुरुङ, स्वरुपराज आचार्य, गुलाम अलि, कुमार सानु तथा उदित नारायण झाका सुमुधुर स्वरबाट प्रभावित उनी कलाकार तथा अग्रजको सधैँ सम्मान गर्नुपर्ने बताउँछन् । काठमाडौँ बसाइको लामो अनुभवमा दुःख सुख दुवै पाटालाई उनको जीवनले छोएको छ । सुरु सुरुमा गीत लेखेर देखाउँदा गीतै भएन र यस्तो पनि रेकर्ड गर्न सकिन्छ र ? भन्ने खालको जवाफ कलाकारहरुबाट पाएको तीतो अनुभव उनी बताउँछन् । पछिल्लो समय उनी आफैँ र सामूहिक सहकार्यको बलबुताले यो अवस्थामा आइपुगेको उनी भन्दछन् । दिनले साथ दिए र आर्थिक झमेला कम परे गीत रेकर्ड गर्दै श्रोतामाझ ल्याइरहने बताउने कडरिया गीत लेखेकै भरमा चाहिँ जीविकोपार्जन गर्न नसकिने बताउँछन् । गीतकार रत्न शमसेर थापा, काली प्रसाद रिजाल, दिनेश अधिकारी, आनन्द अधिकारी र डा. कृष्णहरि बराल लगायत अनेकौँ गीतकारका गीत मन पराउने उनी अग्रजहरु गीत लेखनका प्रेरणाका स्रोतहरु भएको बताउँछन् । एक ताका साथी बद्री प्रसाद सुवेदीबाट गीत लेखनको यात्रा सुरु गरेको बताउँदै उनी अगाडि भन्छन् “समाजमा बाँचेका सबैको कथा प्रायः उस्तै छ मात्र प्रसङ्ग फरक होला ।” मैले त्यसैलाई समेट्ने प्रयास प्रायः गीतहरुमा गरेको छु । यो यथार्थलाई स्वरुपराज आचार्यले गाएको “जिउँदै मरेर पनि हाँसेर जिउनु पर्ने जिउनलाई कहिलेकाँही त विष पनि पिउनु पर्ने” गीतले उजागर गरेको छ ।

हालको हल्दीबारी गाउँपालिका साबिकको गोलधाप १ मा जन्मिएका कडरिया कानुनका विद्यार्थी पनि हुन् । देशको मूल कानुन पढेर पनि होला देशको पछिल्लो अवस्था अनि शक्ति सन्तुलन, नियन्त्रण र पृथकिकरणमा राज्यका तीन अङ्गहरुप्रतिको बेमेलमा उनी चिन्तित देखिन्छन् । न्याय मरेको, मारिएको र अन्यायलाई आश्रय दिने गरेको राजनीतिक प्रणालीप्रति वितृष्णा रहेको बताउने उनी आगामी दिनमा राजनीतिक, सांस्कृतिक र सामाजिक प्रणालीलाई घनिभूत रुपान्तरण गर्न सके सुशासन कायम गरी विधिको शासन चलाउन सजिलो हुने कुरा उनी बताउँछन् । राष्ट्र निर्माणको अभियानमा गाउँदेखि सहरसम्म जागरुकता ल्याउन सके देशको सर्वाङ्गीण विकास हुने उनको दाबी छ । उनका अधिकांश गीतहरुले सर्वकालीन र कालजयी महŒवलाई बोकेका छन् ।