रोल्पा बस दुर्घटनामा चारको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३ मङ्सिर ।

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस आज बेलुकी माडी गाउँपालिका–४ तार्केबाङ शहीद मार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

बस सडकबाट २०० मिटर तल खोलामा खसेको थियो । मृतकको पहिचान भई नसकेको उपरीक्षक सुवेदीले बताउनुभयो । जलजलामा पूजा गर्न बस रिजर्भ गरेर आएका यात्रु दुर्घटनामा परेकोे माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिनुभयो ।

दुर्घटनमा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा आज साँझ बसले हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । सिंहको घटनास्थलमा नै मृत्यु भएको छ भने बस्नेतको विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिँदै गर्दा अस्पताल नजिक ज्यान गएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा गम्भीर दुई जनासहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको बा४ख ५०७९ नम्बरको हायसलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४६९२ नम्बरको बसले ठक्कर दिएको थियो । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।