महधिवेशनको मुखैमा बादलले किन गरे दलबलसहित एमाले छाड्ने कुरा ?

हाम्रो सन्देश संवाददाता

२ मंसिर, काठमाडौं ।

नेकपा एमालेका प्रभावशाली तथा पूर्वमाओवादी नेता राम बहादुर थापाले दलबलसहित एमाले छाड्नेसम्मको कुरा निकालेका छन् । एमालेको महाधिवेशन नजिकिँदै जाँदा पूर्वमाओवादी समूहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट देखिएका हुन् ।

अध्यक्ष ओलीसँग भएको मौखिक सहमति अनुसार महाधिवेशन प्रतिनिधि छनोट नभएको भन्दै पूर्वमाओवादी नेताहरु चिढिएका हुन् । पूर्वमाओवादी समूहका एक एमाले नेताका अनुसार अध्यक्ष ओलीसँग भएको सहमतिअनुुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादी समूहबाट पर्नुपर्ने शर्त थियो ।

त्यसैगरी, जनवर्गीय संगठन र दलित नेता भएको स्थानबाट एक÷एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादीबाट ल्याउने भनिएको थियो । तर, ओलीसँग भएको उक्त सहमतिविपरीत महाधिवेशन प्रतिनिधि छनोटका क्रममा ओली पक्षले एकलौटी गरेको पूर्वमाओवादी समूहको गुनासो छ । ओली पक्षले कतिपय जिल्ला र प्रदेशमा पूर्वमाओवादीका धेरै पुराना कार्यकर्तालाई छाडेर भर्खर राप्रपाबाट पार्टी प्रवेश गरेकाहरुलाई महाधिवेशन प्रतिनिधि बनाएको उनीहरुको गुनासो छ ।

यसैबीच, पूर्वमाओवादीले आगामी महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बताउनुपर्ने बताएको छ । एकताका क्रममा हाल एमालेमा पूर्वमाओवादी समूहका २५ जनाको उपस्थिति छ । आगामी महाधिवेशनमा कम्तीमा २५ सै जनाले वैधानिकता पाउनुपर्ने सो समूहको माग छ ।

रातोपाटीसँगको अनौपचारिक कुराकानीमा सो समूहका एक नेताले भने, ‘केन्द्रीय कमिटीमा हामी २५ जना छौं, बादलजीसहित चारजना स्थायी कमिटीमा छौं, यो टोलीलाई महाधिवेशनमा ग्यारेन्टी भएन भने हामी चुनावमै जाने कि नजाने भन्ने निश्चित छैन ।’

तलैसम्म पार्टी एकताको भाव झल्काउनका लागि पूर्वमाओवादी समूहबाट रामबहादुर थापा बादललाई बरिष्ठ उपाध्यक्ष बनाइनुपर्ने आफूहरुको अडान रहेको बताउँदै ती नेताले भने, अहिले स्थायी कमिटीमा रहेका चारजना र प्रभु साहसमेत स्थायी कमिटीमा पर्नैपर्यो । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवमा पनि हाम्रो दाबी छ । २१ केन्द्रीय सदस्यलाई महाधिवेशनले नेतृत्वमा समेट्न जरुरी छ ।’

पूर्वमाओवादी पक्षले अब महाधिवेशनमा सहमतिबाटै आफूहरुको व्यवस्थापन गर्न ओली तयार भए उनैलाई साथ दिने रणनीति बनाएको छ । तर, सहमति नगरे फरक ढंगबाट सोच्ने नेताहरुको भनाइ छ ।

‘एमालेका तीन–चारवटा गुटमा हामी पर्न चाहँदैनौँ’ नाम उल्लेख नगर्ने शर्तमा एक नेता भन्छन्, ‘हाम्रा २५ जना मान्छे केन्द्रीय कमिटीमा मिलाउन नसके अधिकांश फर्कन्छन् । विप्लव, प्रचण्ड, बाबुराम र नेकपा एस पनि छ, सही ढंगले मिलाएनन् भने एमालेबाट आधा मान्छे फर्किन्छन् । ठूला नेता नफर्के पनि तलका धेरैले एमाले छाड्छन् ।’

अहिले बादल, भीम रावल र घनश्याम भुसाल जस्ता नेताहरुले समेत मानेको हुनाले त्यही सेन्टिमेन्टका आधारमा ओलीको पक्षमा लहर चलेको बताउँदै ती नेताले भने, ‘तर, यसैगरी पेल्दै र एकलौटी गर्दै जाने हो भने यिनको लहर बन्द गर्न हामी एक–दुईजना काफी छौं । हामीले प्रचण्ड र ओलीमा केही फरक रहेनछ भन्दिने हो भने यिनको लहर स्वाट्टै घट्छ । हामीलाई त सडकमा हिँड्न केही आपत्ति छैन ।