गठबन्धनले चोलेन्द्रलाई महाअभियोग लगाउँन खोजेको हो ? प्रचण्डले गरे यस्तो संकेत

हाम्रो सन्देश संवाददाता

२ मंसिर, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको विषयमा नयाँ खुलासा गरेका छन् ।

अहिले सम्म आफुहरु न्यायपालिका भित्रको विवाद न्यायपालिका भित्रै बाट हल होस भन्ने पक्षमा रहेको तर एक दुई दिन भित्र पनि समाधान ननिस्कीएमा राजनितिक समाधान खोजिने उनले बताएका छन् ।

प्रचण्डले प्रधानन्यायाधिश जबराले एक दुई दिन भित्रै राजिनामा नदिए महाअभियोग लगाउँने संकेत गरेका छन् ।राणको राजिनामा मागेर न्यायाधिश र नेपाल वार एसोसिएसनले लगातार आन्दोलन गरिरहँदा विस्तारै विषय महाअभियोग तिर मोडिन थालेको छ ।

प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिनभित्रै समाधान हुने बताएका छन्। बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले अदालतभित्र देखिएको समस्या त्यहीँभित्रबाट सुल्झियोस् भनेर मंगलबार बसेको गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको प्रस्ट पारे। अध्यक्ष प्रचण्डले अदालतमा देखिएका समस्याबारे सत्तारुढ गठबन्धनको सोही धारणा रहेको स्मरण गराउँदै त्यसलाई समाधान गर्न सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने अपेक्षा गरिएको बताए।

‘हिजो हामीले बोल्यौँ नि त। हिजो पाँचदलीय गठबन्धनको जो समन्वय समिति छ, त्यसको बैठक बसेको थियो। र त्यो बैठकले अदालतमा देखापरेको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको, त्यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने हाम्रो अपेक्षा रहेको र त्यसको निम्ति सबै पक्षले आ–आफनो ठाउँबाट समस्या समाधान गर्न पहल गर्ने आशा व्यक्त गरेको भनेर हामीले एउटा सन्तुलित वक्तव्य दिएका छौँ। हामी एक–दुई दिन आशा गर्छौँ कि समस्या अदालतभित्रबाटै समाधान होस्,’ उनले भने।

सो क्रममा प्रचण्डले आसन्न राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचनमा सत्तारुढ दलहरू मिलेर जाने सहमति भएको पनि जानकारी दिए।