२ मंसिर, काठमाडौं ।
नेपालमा उत्पादन हुने तीन वटा सिमेन्ट उद्योगका उत्पादनहरु गुणस्तरहीन भएको पाइएको छ । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिबाट उत्पादित सिमेन्ट गुणस्तरहीन भएको पाइएको हो ।
कम गुणस्तरको सिमेन्ट भेटिएपछि गुणस्तर तथा नापतौल विभागले यी तीन उद्योगको सिमेन्टको बिक्री वितरण रोक्का लगाएको छ । विभागले ती उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण दिन समेत पत्राचार गरेको छ ।ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरुप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण सोधिएको विभागले जनाएको छ ।
‘सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर पुगेन,’ विभागका महानिर्देशक विश्वबावु पुडाशैनीले भने, ‘कम्पनीले ४३/५३ ग्रेड भएको दाबी गरेपनि त्यो देखिएन ।’
पुडाशैनीका अनुसार मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो । यस्तै, जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको थियो ।
‘सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम हुनु हो,’ उनले भने, ‘मारुतीको ओपिसी ४३ ग्रेड, युनाइटेडको ओपिसी ग्रेड ५३ र जगदम्बाको पिपिसीको बिक्री बितरण रोक्न पत्राचार गरेका छौं ।’ती कम्पनीहरुलाई गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने उनले बताए ।
गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि विभागले निर्देशन दिएको छ ।यस्तो गुणस्तरहीन सिमेन्टले घर तथा अन्य भौतिक संरचना बनाउँदा छिट्टै भत्किने खतार हुन्छ । त्यसैले सिमेन्ट किन्दा यी बाहेकका सिमेन्ट खरिद गरेर संरचना निर्माण गर्दा लगानीको सदुपयोग हुनेछ ।