आसन्न चुनावमा ५ दलीय गठबन्धनबीच सहकार्य हुने, यस्तो छ राष्ट्रिय सभाको तयारी…

हाम्रो सन्देश संवाददाता

१ मंसिर, काठमाडौं ।

सत्तारुढ ५ दलीय गठबन्धनबीच आसन्न चुनावमा सहकार्य हुने भएको छ ।

गठबन्धनको तर्फबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा, प्रतिनिधि सभा तथा प्रदेशसभाको आसन्न उपनिर्वाचनमा गठबन्धनको तालमेल हुने जनाएका हुन् ।

विज्ञप्तिमा राष्ट्रियता, लोकतन्त्रको संवद्र्धन, संविधानको रक्षा र सुशासनको प्रवद्र्धनलाई वर्तमान गठबन्धनले मूल मन्त्र बनाएर अघि बढेको विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा ५ दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाइने छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ राष्ट्रियसभाको तयारी

राष्ट्रियसभाका २० जना सदस्यहरूको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । ४ वर्षे कार्यकाल पूरा गरी पदमुक्त हुन लागेका २० जना सदस्यमध्ये रामनारायण विडारी मनोनीत हुन् । अन्य १९ जनाको पदका लागि निर्वाचन हुनुपर्ने प्रावधान छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि सो पदका लागि निर्वाचन हुनुपर्ने हुन्छ ।

जसअनुसार रिक्त हुने पदपूर्तिका लागि माघ ७ देखि १० गतेभित्र निर्वाचन गर्न निर्वाचन आयोगले सुझाएको छ । सरकारले सोही अनुसार राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको छ ।

सत्तारुढ गठबन्धन नेकपा एमालेका विरुद्घमा गठबन्धन गरी निर्वाचनमा जाने तयारीमा रहेको छ । जस अनुसार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो साविक सदस्य संख्या जोगाउने गरी प्रस्ताव राखेको बताइएको छ । निर्वाचन हुने १९ सदस्यमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ४, एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले १ सिट पाउने गरी चुनावी तालमेल हुने बताइएको छ ।

कांग्रेसका एक नेताले बताए अनुसार गठबन्धनको प्रारम्भिक छलफलबाट उक्त निष्कर्ष निकालिएको हो । अन्तिम टुंगो भने लाग्न बाँकी रहेको ती नेताले बताए ।