काठमाडौं-बैंकक उडान, एकतर्फी भाडादर ३५ हजार रुपैयाँ तोकियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० कात्तिक ।

डेढ वर्षपछि काठमाडौं-बैंकक तर्फको नियमित उडान सुरु भएको छ। कोभिड-१९ यता बन्द भएको यो गन्तब्यतर्फको उडान सोमबारदेखि सुरु भएको हो।

हाल यात्रुहरु कम भएका कारण यो गन्तब्यका लागि भाडादर १२ हजार रुपैयाँले वृद्धि भइ ३५ हजार रुपैयाँ कायम भएको निगमले जनाएको छ।

निगमका अनुसार कोभिड अगाडि यो गन्तब्यमा एकतर्फी उडान भाडादर २२ हजार रुपैयाँ थियो।

हाल यो गन्तब्यमा जाने यात्रुको अकुपेन्सी दर ७० प्रतिशत र आउने अकुपेन्सी दर ५० प्रतिशत कायम रहेको निगमका एक कर्मचारीले बताए।

यो नियमित उडान पुनः सुरु भएसँगै दुबै पर्यटकीय गन्तब्य पुन: रि-ब्याक हुने निगमले जनाएको छ ।

यति खेर थाइ एयरवेजले बैंकक-काठमाडौंतर्फको उडान सुरु नगरेपनि नेपाल वायुसेवा निगमले भने साताको सोमबार र बुधबार गरी दुई दिन उडान अनुमति पाएको जनाएको छ। यो गन्तब्यका लागि निगमले एयरबस ३२० (न्यारोबडी) जहाज प्रयोग गर्दै आएको जनाएको छ।

कोभिड अगाडि निगमको जहाजले यो गन्तब्यमा साताको तीनवटा उडान गर्दै आएको थियो। यात्रु माग बढेसँगै निगमले साताको तीनवटा उडान गर्ने योजना रहेको जनाएको छ।

थाइ सरकारले आफ्नो पर्यटकीय गन्तब्य खुला गर्ने घोषणा गरेसँगै आफ्नो नियमित उडान पुनः सुरु गरेको निगमले जनाएको छ।
थाइल्याण्ड सरकारले आउँदो नोभेम्बरदेखि आफ्नो पर्यटन क्षेत्र खुला गर्ने घोषणा गरेको थियो। थाइल्याण्डको ध्वजावाहक कम्पनी थाइ एयरवेजले अक्टोबर ३१ तारिखबाट अन्तर्राष्ट्रियतर्फको नियमित उडान सुरु गरिसकेको छ।

कम्पनीले बैंकक-काठमाडौं उडानका लागि भने आउँदो सन् २०२२ जनावरीबाट नियमीत व्यवसायीक उडान गर्न चासो देखाएको उड्डयन मन्त्रालयले जनाएको छ।

थाइ स्माइल ‘लो-कस्ट’ एयरलाइन्स कम्पनी हो। नागरिक उड्डयन प्राधिकरणमा हालसम्म औपचारिक पत्र नआएपनि ग्राउण्ड ह्याण्डलिङका लागि नेपाल वायुसेवा निगमसँग मौखिक छलफल भएको निगमले जनाएको छ।

यसअघि थाइ एयरवेजले थाइल्याण्ड-नेपालमा साताको पाँचवटा नियमित उडान गर्दै आएको थियो।

थाइ स्माइल सन् २०११ मा स्थापना भएको लो कस्ट वायुसेवा कम्पनी हो। यो कम्पनीले सन् २०१२ बाट आफ्नो व्यावसायिक उडान सुरु गरेको थियो।

फुल सर्भिस एयरलाइन्स र लो कस्ट एयरलाइन्सबीचको भिन्नता हटाउने उद्देश्यले संचालनमा ल्यइएको यो भगिनी कम्पनीले संचालनमा आएको दुई वर्षमै ५० लाख भाट मुनाफा आर्जन गरेको थियो।