गायक योगेश्वर अमात्यको १९ करोडको जग्गा प्रकरण: अनुसन्धान अब बैंकिङ कसुरमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० कात्तिक ।

गायक योगेश्वर अमात्यको जग्गा देखाएर नक्कली लालपुर्जा बनाई बैकबाट ऋण निकालिएको विषयको अनुसन्धान नयाँ शिराबाट सुरु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अब किर्तेमा मात्र नभइ, बैंकिङ कसुरमा समेत अनुसन्धान गर्ने भएको छ।

बैंकिङ कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट चार दिनको समय समेत थप गरिएको छ। बाराको विश्रामपुरस्थित गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको थियो। कुमारी बैंकका कर्मचारीको मिलोमतोमा १९ करोड रुपैयाँ ऋण लिएको खुलेको छ।

किर्ते गरेको अभियोगमा प्रहरीले वीरगंजको कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया नक्कली कागजपत्र बनाएर कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको थियो।

‘बैंकमा नक्कली कागजपत्र राखेर ऋण लिएको देखिएको छ। अब कर्मचारीको भूमिका के हुनेछ भनेर समेत अनुसन्धान हुनेछ,’ ब्युरोका एसपी श्याम महतोले भने।

यस घटनाको अनुसन्धान नेपाल राष्ट्र बैंकले समेत गरिरहेको छ। कित्ता नम्बर १०६९ को एउटै प्लटको जग्गाको नक्कली लालपुर्जा बनाएर कुमारी बैंक वीरगंज शाखाले काठमाडौंको न्यूरोडलाई कर्जा प्रवाह गरेको थियो।

नक्कली लालपुर्जा राखेर ऋण लिएको बैंकले थाहा पाएपछि भदौ अन्तिममा नै ऋणीबाट कमसल धितो भन्दै ऋण सकारेको थियो। १ अर्ब बराबरको जग्गालाई ३८ करोड रुपैयाँ मूल्यांकन गरेर ऋण प्रवाह गरिएको उनको परिवारिक स्रोतको दाबी छ।