अब नेपाल एयरलाइन्सकै टिकटबाट विश्वका यि १० गन्तब्यमा उड्न पाइने

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट विश्वका १० गन्तब्य पुग्न सकिने भएको छ । युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न निगमकै टिकटवाट सम्भव हुने भएको हो । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग सम्झौता गरेर यस्तो सुविधा दिन लागेको हो । सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अस्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ।

निगम प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताइन्। सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उनको भनाइ छ।

टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ। टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट लिन सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ।

यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यू तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो। गन्तव्य र एयरलाइन्सको विवरण तलको तालिकामा उल्लेख गरिएको छ।

यी गन्तव्यका लागि भयो सम्झौता

-काठमाडौं–बैंकक–सिओल : नेपाल एयरलाइन्स/थाई एयरवेज -काठमाडौं–बैंकक–सिड्नी : नेपाल एयरलाइन्स/थाई एयरवेज -काठमाडौं–बैंकक–टोकियो : नेपाल एयरलाइन्स/अल निप्पोन एयरलाइन्स -काठमाडौं–दोहा–कुवेत : नेपाल एयरलाइन्स/कुवेत एयरवेज -काठमाडौं–दुवई–कुवेत : नेपाल एयरलाइन्स/कुवेत एयरवेज

-काठमाडौं–दुवई–जूरिच : नेपाल एयरलाइन्स/इमिरेट्स -काठमाडौं–दुबई–लण्डन : नेपाल एयरलाइन्स/इमिरेट्स -काठमाडौं/दुबई–फ्र्यान्कर्फट : नेपाल एयरलाइन्स/इमिरेट्स -काठमाडौं–दुबई–पेरिस : नेपाल एयरलाइन्स/इमिरेट्स -काडमाडौं–दुबई–बहराइन : नेपाल एयरलाइन्स/इमिरेट्स