गगन थापालाई देउवाले लगाए बोल्नै प्रतिबन्ध, अब के होला यसको परिणाम ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ कात्तिक ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गगन थापालाई बोल्नै प्रतिबन्ध लगएका छन् । देउवाले गगनले न्यायालयमा देखिएको विवादका विषयमा कांग्रेसले बोल्नुपर्छ भन्दा उनलाई रोकेका हुन्।

’गगनले न्यायालयमा देखिएको विवादका विषयमा पार्टीले बोल्नुपर्छ भनेर आफ्नो भनाइ राख्नुभो। तर, सभापतिजीले उहाँलाई बोल्नबाट रोक्नुभयो’, बैठकमा सहभागी एक नेताले भने।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै न्यायक्षेत्र आन्दोलित छ। सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका छन् भने कानुन व्यवसायीले निरन्तर आन्दोलन गरिरहेका छन्।

तर, न्यायालयमा देखिएको विवादबारे कुनै पनि दलले औपचारिक रूपमा बोलेका छैनन्। कांग्रेस सत्ताको नेतृत्वकर्ता दल भएकाले यसमा बोल्नुपर्ने भन्दै थापाले आवाज उठाएपछि सभापति देउवाले उनलाई रोकेको बैठकमा सहभागी ती नेताले बताए।

’सम्मानित अदालतमा भइरहेको समस्या चर्कियो भने व्यवस्थाले मूल्य चुकाउनु पर्छ। तत्काल समाधान नगर्ने हो भने महाधिवेशनसम्म अवस्था विथोलिन्छ। चुप लाग्न मिल्दैन’, बैठकमा थापाले भने, ’यसमा गम्भीर हुनुपर्छ। सभापतिको ध्यान जानुपर्छ। यसमा पार्टीले बोल्नुपर्छ।’

उनले जनसम्पर्क र भातृसंस्थाको महाधिवेशन हुन नसकेकाले प्रतिनिधि आउन पाउने र नपाउने प्रष्ट हुनुपर्ने पनि बताए। ’महाधिवेशनले नीति कार्यक्रम बनाउने भन्ने हो। विधानको यो व्यवस्थाले के गर्ने? निलम्बन गर्ने कि के गर्ने?, बैठकमा थापाले प्रश्न गरे।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सभापती देउवाको निवास बूढानीलकण्ठमा जारी छ। बैठकमा महाधिवेशनको तयारी, कांग्रेसको नीति र विधान तथा समसामयिक विषयमा छलफल भइरहेको छ।