एमाले महाधिवेशन प्रतिनिधि छनोटमा घिनलाग्दो दुरुपयोगः झापट रावल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ कात्तिक ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् सांसद झपट रावलले कैलालीका पुराना नेता-कार्यकर्ताको नाम हटाएर जथाभावी महाधिवेशन प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन्।

नेता रावलले एमालेका नेता-कार्यकर्ताको लिस्ट हटाएर नक्कली मान्छेलाई समेटेर महाधिवेशन प्रतिनिधि छनोट गरिएको बताए।

‘नेकपा एमालेका पुराना नेता कार्यकर्ताको लिस्ट हटाएर माओवादीबाट आएका र नक्कली व्यक्तिलाई समेटेर प्रतिनिधि छनोट गरिएको छ’, नेता रावलले सेतोपाटीसँग भने,‘कार्यकर्ताको महाधिवेशन प्रतिनिधि चुनिने सार्वभौम अधिकारको चिरहरण भएको छ, यो जबजकै उपहास हो।’

एकता प्रक्रियाका नाउमा पूर्वमाओवादको तर्फबाट पूर्ण परिचय समेत नखुलाइकन सदस्यता वितरण भएको र उनीहरूलाई नै महाधिवेशन प्रतिनिधि छनोट गरिएकोमा रावलको आक्रोश थियो।