माओवादी केन्द्रको पार्टी सदस्य संख्या कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ कात्तिक ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको पार्टी सदस्य संख्या पौने ७ लाख पुग्ने भएको छ। बिहीबार साँझसम्म साढे ५ लाख सदस्यको विवरण इन्ट्री भइसकेको छ। बाँकी सवा लाखको इन्ट्री गर्ने काम भइरहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

माओवादीले केही महिनादेखि देशभर सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई तीव्र पारेको थियो। एक महिनाकै अवधिमा सदस्य बन्नेको संख्यामा वृद्धि भएको महराले बताए। उनका अनुसार प्रदेश २ र १ तथा अन्य प्रदेशका विकट गाउँबाट सदस्यहरुले भरेका फर्म आउने क्रम जारी छ।

‘हाम्रो सदस्यहरुले भरेका फर्म संकलन भइरहेका छन्, विकट गाउँपालिकाबाट आउने क्रम जारी छु, उनले भने, ‘ती हार्ड कपी लिने काम भइरहेको छ। अब सदस्यता नवीकरण र वितरणका लागि म्याद थप्दैनौँ।’

उनले बागमती प्रदेशबाट सबैभन्दा बढी सदस्यता भरिएको बताएका छन्। एक वर्षमै ३० लाख सदस्य बनाउने लक्ष्य राखेको माओवादी केन्द्रले एक महिनाको अवधिमा नवीकरण र नयाँ सदस्यता भर्ने संख्या पौने ७ लाख पुर्‍याउन सफल भएको हो ।

माओवादीले सदस्यताको विवरण डिजिटलाइज्ड गरिरहेको छ। माओवादी केन्द्रको मंसिर ४ गते वडा अधिवेशन हुँदैछ। पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन तय भएको छ। राष्ट्रिय सम्मेलनकै लागि माओवादीले असोजदेखि पार्टी सदस्यता नवीकरण र नयाँ वितरण संकलन गरिरहेको छ।