बैंकका कर्मचारी धमाधम पक्राउ, कारण थाहा पाउँदा तपाईपनी डराउनुहुन्छ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ कात्तिक ।

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण झिकिएको पाइएको छ । अमात्यको बारामा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो ।

यसबारे जानकारी पाएपछि अमात्यले दशैंअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा अनुसन्धानका लागि जाहेरी दिएका थिए । त्यसअनुसार सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा अनुसन्धानका लागि ब्यूरोले केही साता अघि पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैंकको ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधान रहेको ब्यूरोका प्रमुख धिरजप्रताप सिंहले बताए । वीरगंज शाखाका एक जना बैंक कर्मचारी फरार रहेकाले खोजी भइरहेको ब्युरोका डीआईजी सिंहले भने ।

प्रहरीसँगको बयानमा नक्कली जग्गा धनी महर्जन र गौतमले आफूहरु पनि फसेको बताएका छन् । उनीहरुले ‘प्रधानले आफूहरुलाई डुबाएको’ बताएका छन् । विस्तृत अनुसन्धान भइरहेको छ ।

सुरुमा बैंकले यो प्रकरणलाई लुकाउन खोजेको थियो । हालसम्म उसले प्रहरीमा जाहेरीसमेत दिएको छैन । आफ्ना धेरै कर्मचारी अनुसन्धानमा तानिने भएपछि बैंकले उजुरी नदिएको स्रोत बताउँछ । ऋणी गौतमको नाममा रहेको अरू जग्गा राखेर सो प्रकरण मिलाउने प्रयास गरिरहेको छ । बैंकिङ कसुर मुद्दामा अनुसन्धान नगर्न प्रहरीमाथि समेत दबाब परेको स्रोत बताउँछ ।

त्यति ठूलो रकम कर्जा प्रवाह गर्दा आधारभूत प्रक्रियासमेत पूरा नगरेको देखिए पनि त्यसमा संलग्न कर्मचारीले उन्मुक्ति पाउने सम्भावना देखिएको छ । स्रोतका अनुसार बिचौलिया रहेका प्रधानले त्यसरी कर्जा मिलाइदिएबपत करिब ६० लाख रुपैयाँ लिएका थिए । बैंकका उच्च कर्मचारीलाई प्रभावमा पारी उनले कर्जा दिलाउन लगाएका थिए ।

यस्तै, घटनामा दुई वर्षअघि सिआइबीले नै बैंक अफ काठमाडौंका पूर्वसिइओ अजय श्रेष्ठसहित उच्चपदस्थ कर्मचारीलाई पक्राउ गरेको थियो । बैंक व्यवस्थापनकै मिलेमतोमा नक्कली धितोमा कर्जा प्रवाह गरेको प्रस्ट हुँदा पनि यसपटक भने बैंकिङ कसुरमा अनुसन्धान गरिएको छैन ।

ग्राहकको पैसा मिटरब्याजमा लगाउने बैंक प्रबन्धक पक्राउ – ग्राहकले निक्षेप खातामा जम्मा गरेको पैसा निकालेर मिटरब्याजमा लगाउने सिन्धु विकास बैंक काभ्रे दोलालघाट शाखाका प्रबन्धक सुमन खरेल पक्राउ परेका छन् । उनले एक करोडभन्दा धेरै रकम हिनामिना गरेको उजुरी बैंकले नै गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ग्राहकहरूले जम्मा गर्न ल्याएको निक्षेप उनी चिनजानका व्यवसायीलाई मिटरब्याजमा लगाउने गर्थे । हरेक महिनाको अन्तिममा ब्याजसहित ग्राहकको खातामा पैसा राखेर हिसाब मिलाउँथे । तर, पछिल्लो केही महिनायता त्यसरी ब्याजमा लगाएको पैसा नउठेपछि उनको अवैध धन्दा खुलेको थियो । घटनामा बैंकका अन्य कर्मचारीले पनि उनलाई सघाएको आशंका गरिएको छ ।