गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा, एरो थाईले परिक्षण उडान गर्दै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ कात्तिक ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा रहेको छ । विमानस्थलको क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको थाइल्याण्डको एरो थाई आगामी नोभेम्बर २२ मा नेपाल आउँदैछ । यान्त्रिक परीक्षण उडानको रिपोर्ट पछि प्राधिकरणले परीक्षण उडान गर्नेछ ।

विमानस्थल संचालनमा ल्याउनु पूर्व ‘क्यालिब्रेसन फ्लाइट’ गर्नुपर्ने हुन्छ । विमानस्थलमा विमान उडान/अवतरण एवं धावनमार्ग, टावरलगायत क्षेत्रमा जडित उपकरणले काम गरे वा नगरेको परीक्षण गर्ने कार्यलाई ‘क्यालिब्रेसन फ्लाइट’ भनिन्छ । यान्त्रिक परीक्षण उडानको प्रतिवेदन पछि परीक्षण उडान गरिन्छ र त्यसपछि व्यवसायिक रुपमा विमानस्थल संचालनमा ल्याइन्छ ।

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले ‘क्यालिब्रेसन फ्लाइट’का लागि एरो थाईको विमान नोभेम्बर २२ मा नेपालमा आउने बताए । ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न गर्न करिब एक साता लाग्ने प्राधिकरणले जनाएको छ । कर्णका अनुसार परीक्षण उडानपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने छ ।

विमानस्थलमा तीन किलोमिटरको एउटा धावनमार्ग छ । यो विमानस्थलको यात्रु क्षमता वार्षिक करिब ४ लाख रहेको छ । विमानस्थलबाट एक घण्टामा पिक आवरमा ४ सय यात्रु ह्यान्डलिङ गर्न सकिने आयोजनाले जनाएको छ ।