नेता-कार्यकर्तालाई एमालेको आदेश: पार्टीको खातामा पैसा जम्मा गर्नु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ कात्तिक ।

नेकपा एमालेले पार्टीका सदस्य नेता-कार्यकर्ताहरूलाई कम्तीमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न ओदश दिएको छ ।

बुधबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तीमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो।

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखामा १७-००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ। सोही खातामा सबै पार्टी सदस्यहरूले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

एमालेले यसअघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ। प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग हाल करिब ७ लाख ३० हजार पार्टी सदस्य छन्। उनीहरूबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ७ करोड ३० लाख रुपैयाँ उठ्छ। त्यसले पार्टीको महाधिवेशनको खर्च पुर्‍याउन सकिन्छ।

‘यो महाधिवेशनलाई सम्पन्न गर्न एउटा ठूलो आर्थिक खर्च पनि छ। ठूलो पार्टी छ। ठूलो जनसहभागिता जुटाउनुपर्नेछ। देशभरबाट प्रतिनिधिहरू आउनेछन्। विदेशी मित्रहरू पनि यसमा सहभागी हुनेछन्। र, ठूलै खर्च यो महाधिवेशनमा हुन्छ।

त्यसकारणले आजको व्यवस्थापन कमिटीको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तीमा पनि रुपैयाँ १०० महाधिवेशनको निम्ति खोलिएको खातामा अनलाइन सिस्टमबाट जम्मा गर्न अपिल गरेका छौँ’, भट्टराईले भने।

बैठकले पार्टीको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ। जसअनुसार मंसिर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन अपराह्न १२ बजे चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको विशाल मैदानमा अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।