रामचन्द्रले माओवादी छाडे, एकीकृत समाजवादीमा प्रवेश गर्दै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ कात्तिक ।

माओवादीका केन्द्रीय सदस्य झाले नेकपा एकीकृत समाजवादी प्रवेश गर्न लागेको पुष्टि गरे ।

उनले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालसँग औपचारिक रुपम बिदासमेत लिइसकेको जानकारी गराए । माधव कमरेडसँग ३० वर्षसँगै काम गरेको हो ।

त्यो आफैले बनाएको घर हो नौलो कुरा होइन, झाले भने, प्रचण्डजीसँग पनि औपचारिक रुपमा बिदावारी भइसकेको छु । अहिलेको लडाइँ केपी शर्मा ओलीको प्रवृत्ति विरुद्धमा हो ।

ओली प्रवृत्तिको विरोधी लडाइँमा प्रभावकारी भूमिका नेपालसँग गएर हुने उनले बताए । माओवादीको मनचित्त दुखाएर एकीकृत समाजवादीमा प्रवेश गर्न होइन, झाले भने ।

झालाई एकीकृत समाजवादीमा उपाध्यक्ष बनाउने तयारी छ । झा प्रदेश २ मा प्रभाव भएको नेतामा पर्छन् । माओवादीले स्थायी कमिटी सदस्य नबनाएको भन्दै झा असन्तुष्ट थिए ।

नेपालगन्जमा भएको एमालेको छैठौं महाधिवशनमा वैकल्पिक केन्द्रीय सदस्य भएका झा जनकपुर इन्चार्ज रहेका थिए ।

जनकपुरमा भएको सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी एमालेको आठौं महाधिवेशनपछि पोलिटब्युरो सदस्य भएका थिए । पहिलो संविधानसभा निर्वाचनपछि उनी स्थानीय विकासमन्त्री बनेका थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति गठन गर्दा झा उक्त पार्टीमा लागेका थिए । पछि फेरि माओवादीमा फर्केका थिए ।