एमसीसी बिरुद्ध बोल्नेहरुलाई राष्ट्रद्रोहको मुद्धा हालेर कारवाही गर्नुपर्छः अरुणकुमार सुवेदी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ कात्तिक ।

विश्लेषक अरुणकुमार सुवेदीले आफुले अमेरिकाबाट १० लाख खायो भन्नेबारे सामाजिक सञ्जालमा आएको डकुमेन्ट फेक भएको स्पष्ट पारेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । साथै, पिएचडी गरेका व्यक्तिले समेतले ‘फेक डकुमेन्ट’ लाई सेयर गरेको देख्दा आफुलाई दया लागेको उनको टिप्पणी थियो ।

भारतका रामचन्द्र गुहा, गौतम नवलखा र अरुणधती रोय जस्तै मानसिकता भएका उनीहरुका मानसपुत्रहरु नेपालमा रहेको बताउदै हरेक कुरामा प्रहार र विरोध गर्ने एउटा दुष्ट बौद्धिक जमातले यसको विरोध गरेको सुवेदीले आरोप लगाए ।

साथै, एमसीसीको सम्झौतामा स्पष्ट रुपमा नेपालको महालेखापरीक्षकले अडिट गर्न पाउने लेखिएको बताए । तर, यस्ता कुरामा सार्वजनिक रुपमा गलत ब्याख्या गर्नु भनेको अर्थ व्यवस्थाको विरुद्ध, विकास र राष्ट्रप्रतिको द्रोह भएको भन्दै भीम रावललाई पनि कारबाही गर्नपर्ने माग गरे ।

त्यसैगरी एमसीसीलाई नेपालको संसद्बाटै पारित गर्नपर्ने भन्ने कुरा नेपालकै कानुन मन्त्रालयले राखेको बताउदै यसबारे पनि विरोध गर्नुमा कुनै तुक नरहेको बताए । नेपालको मस्तिष्क नियन्त्रण एसिया फन्डेसनले गरिहेको बताउदै उनले नेपालका नेताहरुले विकासको विरोध गर्नुको कारण जनतालाई सधैं गरिबीमा राखेर सधैंभरि भोटको खेती गर्ने सोच बनाएको आरोप लगाए ।