एमाले महाधिवेशनको मुख्खैमा यी नेताले गरे विद्रोह, भने बैठक ‘अवैध’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ कात्तिक ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा बढेको विवाद अझ लम्बिने संकेत देखिएको छ । १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने मागसहित असन्तुष्ट रहेका उपाध्यक्ष भीम रावलले उक्त सहमति विपरितका सबै बैठक अवैध भएको जनाएका छन् ।

उनले आजको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गर्दै त्यसलाई अवैध र अमान्य भएको बताएका छन्। मंगलबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु.प. (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । ‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि–१२ झापामा लागू हुने, सु.प.मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’

१० सहमितमा साविकका एमालेका कमिटी तथा जिम्मेवारीहरु यथावत हुने भनिएकोमा सुदूरपश्चिम प्रदेशको इन्चार्ज खोसिएकोमा रावलले आपत्ती जनाउँदै आएका छन् । तत्कालीन नेकपा विभाजित भएर आएका माओवादी केन्द्रका नेता लेखराज भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेपछि रावल असन्तुष्ट छन् ।

यस्तै यस्तै नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिरको दोस्रो साता सम्पन्न हुँदैछ । महाधिवेशनले छान्ने नेतृत्वका लागि एमालेले आगामी विहीबार करिव २ हजार (१९९९) महाधिवेशन प्रतिनिधि चुन्दैछ । २७ गते देशभरका करिव साढे सात लाख कार्यकर्ताबाट छानिने १९९९ महाधिवेशन प्रतिनिधिले एमालेको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । महाधिवेशन मिति नजिकिएसँगै एमालेले कस्ता र कुन कुन नेतालाई नेतृत्वमा पुर्याउला भन्ने चासो र बहस नेता कार्यकर्तामा सुरु हुन थालेको छ । खासगरी अध्यक्षसहित निर्वाचित हुने १५ पदाधिकारीमा कस्ता कस्ता अनुहार आउलान् भन्ने चासो एमाले वृत्तमा चल्न थालेको छ ।

हुन त कक्षा दोहोर्याएर नपढ्ने घोषणा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली नै आगामी महाधिवेशनमार्फत् पार्टीको प्रमुख पद अध्यक्षमा दोहोरिने लगभग पक्का छ । किनभने यसअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले विधान परिवर्तन गर्दै ओली अनुकूलको व्याख्या र विश्लेषण गरिसकेको छ, जसले ओलीलाई पुनः अध्यक्ष बन्न र अर्को कार्यकाल विताउन कुनै अवरोध देखिँदैन । अर्कोतर्फ नेता माधव नेपालले पार्टी छोडेसँगै तत्काल एमाले पार्टीमा ओलीलाई ‘काउन्टर’ दिने नेताको खडेरी परेको देखिन्छ ।

यसअघि ओलीलाई काउन्टर दिने नेताका रूपमा चिनिएका माधवकुमार नेपाल एमाले छाडेर अर्को पार्टी गठन गरेकाले पनि पार्टीमा ओलीको प्रतिस्पर्धीका रूपमा अरु नेता फ्रन्टलाइनमा आउन सक्ने हैसियतमा छैनन् । माधव नेपाल एमालेबाट बाहिरिएसँगै पार्टीमा ओलीको प्रभाव पकड थप बढ्न पुगेको ओली पक्षको विश्लेषण छ ।

विगतमा माधव नेपालसँग रहेर ओलीविरुद्ध संघर्ष गरेका नेताहरुसमेत पार्टी विभाजनका बेला एमालेमै बसेपनि पार्टीमा उनीहरुको भूमिका गौण बन्दै गएको छ । १० बुँदे प्रस्तावका पक्षधर रहेका उपाध्यक्ष भीम रावल र घनश्याम भुसालसहितका नेता एमालेमै छन् तर उनीहरु समेत ओलीलाई काउन्टर दिन सक्ने हैसियतमा देखिँदैनन् । सोही कारण पनि आगामी महाधिवेशनले अध्यक्षमा ओलीको विकल्प नखोज्ने धेरै नेता कार्यकर्ताको बुझाइ छ ।

ओलीको आलोचना गर्ने भनेर चिनिएका उपाध्यक्षहरू रावल र उपमहासचिव घनश्याम भुसाल सांगठनिक धरातलमा कमजोर रहेकाले उनीहरुका सामु ओलीको निर्णय मान्नुको विकल्प नरहेको बताइन्छ । महाधिवेशनमार्फत् २२५ सदस्यीय केन्द्रीय समिति छनोट गर्ने जनाएको एमालेले औपचारिकताका लागि महाधिवेशन गर्ने भएपनि १५ पदाधिकारीको टीम भने सहमतिमै छान्नुपर्छ भन्ने मत एमालेमा बलियो छ ।

त्यसो त आगामी महाधिवेशनमा उपाध्यक्ष भीम रावल वा उपमहासचिव घनश्याम भुसालमध्ये एक जना अध्यक्षको दावेदारका रूपमा अघि बढ्न सक्ने सम्भावना रहेपनि त्यो सम्भावना अत्यन्त कमजोर रहेको एमालेभित्र चर्चा छ ।

उपाध्यक्ष रावल १० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै ओलीसँग सन्तुष्ट छैनन् । त्यस्तै भुसालले पनि १० बुँदे कार्यान्वयनमा इमान्दारीता नदेखिएको भन्दै गत स्थायी कमिटी बैठकमै फरक मत पेश गरेका थिए । रावल र भुसाल ओलीसँग खुस हुन नसकेपनि खुलेर ओलीको विरोध गर्न चाँहदैनन् । किनभने ओलीलाई चिढ्याएर भन्दा पनि मौन बसेर नै आफ्नो भलो हुन सक्ने उनीहरुको ठम्याई छ ।